-->
एलएलसीमा उत्कृष्ट नतिजा ल्याउने दीपिकाको इन्जिनियर बन्ने सपना
Advertisement

१३ आषाढ, काठमाडौं । किताबी ज्ञान वा अतिरिक्त क्रियाकलाप दुवैमा उत्तिकै अब्बल विद्यार्थी निकै कम हुन्छन् । कोही किताबी ज्ञानका किरो हुन्छन् त कोही अतिरिक्त क्रियाकलापमा मात्रै अब्बल । तर, दीपिका उप्रेतीलाई यी दुवै चीज बरदानका रुपमा मिलेका छन् ।
त्यसैले, त उनी विद्यालयमा हुने हरेक अतिरिक्त क्रियाकलापकी अब्बल छात्रा हुन नै एसएसलसीमा पनि उनले उत्कृष्ट नतिजा हात पार्न पनि सफल भइन् ।
काठमाडौंको बागबजारस्थित काम्यक स्कुलबाट एसएलसी दिएकी उनले जिपिए ३.९५ अंकसहित एसएलसीमा उत्कृष्ट स्थान हासिल गरिन् । यस वर्षको एसएलसीमा जिपिए ३.९५ ल्याउने जम्मा ३६ जना विद्यार्थी छन् । त्यही ३६ जना विद्यार्थी मध्येकी हुन्, दीपिका ।
बारा जिल्लाको सपहीमा जन्मेकी दीपिकालाई उनको परिवारले ४ वर्षकै उमेरमा काठमाडौं ल्याएका हुन् । युकेजीदेखि काम्यक स्कुलमा अध्ययन थालेकी उनले सबै कक्षामा प्रथम स्थान हासिल गरिन् ।
‘मेहनत गर्याे भने सफल हुन सकिँदो रहेछ । मेरो परिवारमै एसएलसीमा सबैभन्दा बढी अंक मैले ल्याए । अहिले म भन्दा पनि बढी मेरो परिवार खुशी छ,’ गत साता एक मध्यान्ह नेपालीपत्रसँगको भलाकुसारीमा यी किशोरीले सुनाइन् ।
उनले आफ्नो सफलताको श्रेय विद्यालय र परिवारलाई दिइन् । ‘यो मेरो मात्रै होइन मैले पढेको स्कूल र मेरो परिवारको पनि सफलता हो,’ उनले यसो भनिरहँदा उनको मुहारभरी मुस्कान थियो ।
एसएसलसीको नतिजा प्रकाशन हुँदा सबैभन्दा पहिले आफ्ना हजुरबा र हजुरआमालाई सम्झिइन्, उनले । भन्छिन्, ‘यो सफलता मेरो मेहनतले मात्रै सम्भव भएको होइन, हजुरबा हजुरआमाको आशिर्वाद पनि हो ।’ हुन पनि उनी, हरेक परीक्षा दिन जानुभन्दाअघि हजुरबुवा र हजुरआमालाई फोन गर्न बिर्सिदैंनथिन् । उनका ८१ वर्षीय हजुरबुबा र ७१ वर्षकी हजुरआमा बाराको सपहीमै छन् । तर, एसएलसीको नतिजा भने हजुरबुवा हजुरआमालाई बुझाउन हम्मेहम्मे नै प¥यो उनलाई । काठमाडौंको अनामनगरमा डेरा गरी बस्ने दीपिकाको बुवा नेपाल प्रहरीमा सई छन् । आमा गृहिणी हुन् । दुई भाईहरु पाँच र आठ कक्षामा पढ्छन् ।
दीपिका किताबी ज्ञानमा मात्रै होइन अतिरिक्त क्रियालापमा पनि उत्तिकै अब्बल छिन् । ‘किताबी ज्ञान, अनुशासन र अतिरिक्त क्रियाकलाप सबैका उनी ‘ए प्लस’ ग्रेडकी विद्यार्थी हुन्,’ स्कुलका प्रिन्सिपल ऋषिकेश भट्टराई भन्छन्, ‘उनको यो नतिजा अपेक्षित नै थियो । अहिलेकै स्टाटस कायम गर्ने हो भने हामीले उनको निकै राम्रो भविष्य देखेका छौं ।
‘एसएलसीमा राम्रै नतिजा आउँछ भन्नेमा ढुक्क थिए । यसै वर्षदेखि नतिजा ग्रेडिङ सिस्टममा आउने भयो । त्यसैले, नतिजा हेर्ने तरिका पनि जानेर बसेको थिएँ’ उनले अनुहारमा खुशी दौडियो । तर, ग्रेडिङ प्रणालीले एसएलसीले भने उनको चित्त बुझेको छैन । ‘नेपाली बाहेक सबै विषयमा ‘ए प्लस’ आएको छ । तर, ती विषयमा ठ्याक्कै कति नम्बर पाए भन्ने हेर्न पाइएन । त्यसैले, प्रतिशत प्रणालीको नतिजा नै ठिक जस्तो लाग्यो’ उनी भन्छिन् ।
उनी पढाइमा जति सक्षम छिन कराँते खेलमा पनि उत्तिकै अब्बल । उनले स्वदेश विदेशका कराते प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेकी छन् । प्रशस्तै पुरस्कार र प्रशंसापत्र पाएकी छन् । २०६९ र ०७० मा भारतको पुणे र नयाँ दिल्लीमा भएको कराँते प्रतियोगितालाई भने बिर्सन सक्दिनन् उनी । दुवै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन्, दीपिका । त्यसबेला उनी कक्षा ७ र ८ मा पढ्थिन । यसबाहेक कविता लेखन र नृत्यमा पनि उनको विशेष दख्खल छ । ‘स्कुलका सबैजसो शैक्षिक क्रियाकलापको उनको उत्कृष्ट स्थान हुन्थ्यो । विद्यालयमा रहेका सबै विद्यार्थीको प्रेरणा स्रोत पनि हुन उनी’, स्कूलका प्रिन्सिपल भट्टराईले भने ।
इन्जिनियरको सपना
भविष्यमा इन्जिनियर बनेर देशको सेवा गर्ने सोच बनाएकी छन्, दीपिकाले । त्यसैको तयारीको लागि विज्ञान विषय पढ्न लागेको र राम्रो कलेजको खोजी गरिरहेको उनले बताइन् । ‘इन्जिनियर बन्ने सानैदेखिको रहर हो । सानै भए पनि मेरो कामले देश विकासका सहयोग पुगोस भन्ने इच्छा छ । नेपालमै बसेर काम गर्ने चाहना भएकाले इन्जिनियर बन्ने सोच बनाएकी हुँ’, दीपिकाले भनिन् ।
उच्च शिक्षाको लागि विदेशिने र त्यतै सेटल हुने नयाँ पुस्ताको सोचभन्दा दीपिकाको सोच फरक पाइयो । ‘विदेश जानै हुँदैन भन्ने होइन । त्यहाँ सिकेको सीप ल्याएर देश विकासमा खर्चिने हो । देश विकासमा हामीले योगदान नगरे कसले गर्छ ?’ उनी भन्छिन्, ‘उच्च शिक्षा पनि नेपालमै पढ्छु र त्यही ज्ञान देश विकासमा खर्चन्छु ।’
तर, नेपालको अहिलेको शिक्षा प्रणाली सुधार गर्नुपर्ने उनलाई पनि लागेको छ । ‘सैद्धान्तिक विषयको अध्ययनले मात्रै केही हुँदैन् । घोकाएर पढाउने तरिका पनि ठिक होइन’, उनको सुझाव छ, ‘अब त प्राविधिक विषयको व्यवहारिक ज्ञान दिने खालको शिक्षा प्रणाली चाहिन्छ ।’
राजनीतिमा पनि रुची रहेछ उनको । ‘देशमा के भइरहेको छ भन्ने कुरामा पनि चासो हुन्छ । नेतृत्व तहमा महिलाहरु पुगिरहेको देख्दा खुशी लागेको छ । तर, बेलाबेलामा बाहिर आउने राजनीतिक दलहरुको असमझदारीले भने दिक्क बनाउँछ’ उनले भनिन् ।स्रोत: नेपालीपत्र डटकम


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.