असार १३ – विश्व विजेता जर्मनी युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा स्लोभाकियालाई ३–० ले हराएर जर्मनीले अन्तिम ८ मा स्थान बनाएको हो ।
लिलेमा भएको खेलमा जर्मनीलाई जित दिलाउन जेरोम बोटाङ, मारियो गोमेज र जुलियन ड्राक्सलरले एक एक गोल गरे । ८ औं मिनेटमा नै बोटाङले २५ यार्डबाट गरेको सुन्दर भलिगोलबाट जर्मनीले सुरुवाति अग्रता लियो ।
४३ औं मिनेटमा गोमेजले गोल गरेपछि पहिलो हाफमा जर्मनीले २–० को अग्रता लियो । त्यसअघि १४ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा जर्मनीका मेसुट ओजिल गोल गर्नबाट चुकेका थिए ।
६३ औं मिनेटमा ड्राक्सरले गोल गरेपछि जर्मनीले ३–० को जित सुनिश्चित ग¥यो । स्लोभाकियाका जुराज कुस्काले हेडर बल जर्मनीका गोलरक्षक म्यानुएल नुएरले सुन्दर बचाउ गरे । जर्मनीले अब अन्तिम ८ मा स्पेन र इटाली मध्ये एकसँग खेल्नेछ ।
स्पेन र इटालीबिच अन्तिम १६ अन्तर्गत सोमबार प्रतिस्पर्धा हुँदैछ । स्लोभाकियासँगको खेलमा तीन पटकको युरोकप च्याम्पियन जर्मनीले राम्रो प्रदर्शन गरेको थियो । समूह चरणमा मध्यम प्रदर्शन गरेको जर्मनीले यो खेलमा ६० प्रतिशत भन्दा धेरै समय बलमा नियन्त्रण कायम गरेको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...