-->
उपत्यकामा स्याटेलाइट सिटी निर्माण तयारी सुरु
Advertisement

काठमाडौँ, असार १३ – काठमाडौँ उपत्यका विकास प्राधिकरणले ‘स्याटेलाइट सिटी’ निर्माणका लागि तयारी सुरु गरेको छ ।

सरकारले आगामी वर्षको बजेटमा उपत्यकामा तीनवटा स्याटेलाइट सिटी निर्माण गरिने कार्यक्रम ल्याएको थियो । एक लाख रोपनीको क्षेत्रलाई स्याटेलाइट सिटी निर्माणका लागि अध्ययन गर्न परामर्शदातालाई कामको विवरण तोक्ने गृहकार्य सुरु भएको प्राधिकरणका विकास आयुक्त डाक्टर भाइकाजी तिवारीले जानकारी दिनुभयो । 
  
‘सिटीमा आधारभूत आवश्यकताका सबै सेवा सुविधा पुर्याउने गरी निर्माण प्रक्रिया अघि बढाउन विस्तृत परियोजना प्रस्ताव निर्माणका लागि परामर्शदाता छनोट गर्न कामको विवरण तोक्ने काम भइरहेको छ, पाँच वर्षमा एउटा स्याटेलाइट सिटी निर्माण सम्पन्न हुनेछ, आठ वर्षमा अरु दुई वटा सिटी बन्नेछ’ आयुक्त तिवारीले भन्नुभयो । 
  
स्याटेलाइट सिटी निर्माणका लागि आर्थिक वर्ष २०७३/७४ को बजेटमा १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  कुन क्षेत्रमा सिटी निर्माण गरिने भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन ।
  
यसअघि विसं २०५६ मा ललितपुरको हरिसिद्धिमा सिटी निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागले आवश्यक अध्ययन गरी तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयमा प्रस्ताव पेस गरे पनि उपत्यकामा पानीको अभाव भन्दै मन्त्रालयले प्रस्ताव थन्क्याएको थियो ।
  

विसं २०६४ पछि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गोकर्णदेखि सुन्दरीजलसम्मको क्षेत्रलाई सिटीको प्रस्ताव पेस गरे पनि सहरी विकास मन्त्रालयले त्यसलाई पनि अघि बढाएन । सरकारले काठमाडौँको निश्चित क्षेत्रमा केन्द्रिकृत विकास रोक्नलाई सिटीको अवधारणा अघि सारेको प्राधिकरणले जनाएको छ । 



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.