४६ करोड ५० लाखका गाडी किनिँदै
काठमाडौं: नेपाली सेनाका लागि तत्काल तीनवटा हेलिकोप्टर किन्ने प्रस्ताव मन्त्रिपरिषद्ले स्थगित गरेपछि सैनिक मुख्यालयले ४६ करोड ५० लाख रुपैयाँबराबरका सैन्य गाडी खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।
गत कात्तिकमै सेनाका लागि तीन अर्ब रुपैयाँ स्वीकृत भए पनि सेनाले समयमै हेलिकोप्टर किन्ने प्रस्ताव नपठाई आर्थिक वर्षको अन्त्यमा पठाएका कारण मन्त्रिपरिषद्ले खरिदप्रक्रिया स्थगित गर्ने निर्णय गरेको स्रोतले बतायो। त्यसपछि सेनाले विपद् व्यवस्थापनका लागि सैन्य गाडी खरिद गर्ने प्रक्रिया अघि बढाएको हो।
रक्षा मन्त्रालयका प्रवक्ता शिवप्रसाद सिम्खडाले सेनाको विपद् व्यवस्थापन तालिमका लागि आवश्यक सामग्री खरिदप्रक्रिया अघि बढेको जानकारी दिए। उनले भने, 'सार्वजनिक खरिद ऐनअनुसार नै सेनाको विपद् व्यवस्थापनलाई आवश्यक पर्ने सामग्रीको खरिदप्रक्रिया सुरु भएको हो।'
सेनाले दुईवटा मध्यम र एउटा सानो आकारको हेलिकोप्टर किन्न प्रस्ताव गरेको थियो। सेनाले क्यानाडा, फ्रान्स र इटलीका कम्पनीबाट हेलिकोप्टर खरिद गर्ने तयारी गरेको थियो। सेनाले हेलिकोप्टरसहित उद्धारसामग्री खरिद गर्न तीन अर्ब रुपैयाँबराबरको विवरण (स्पेसिफिकेसन) सहितको प्रस्ताव रक्षा मन्त्रालयमा पठाएको थियो।
रक्षाले सैन्य गाडी खरिद गर्न आवश्यक रकम निकासाका लागि अर्थ मन्त्रालयमा फाइल पठाएको थियो। सेनाले मिलिटरी जिप, पिकअप, ट्रक, एक्जाभेटर, कंक्रिट ब्रेकर, डोजर, लोडर ड्रम ट्रकलगायत सामग्री खरिद गर्न लागेको हो। सैनिक प्रवक्ता ताराबहादुर कार्कीले ती गाडी विपद् व्यवस्थापनका लागि प्रयोग हुने बताए।
सैनिक मुख्यालयले विपद् व्यवस्थापनकै लागि हेलिकोप्टर खरिद गर्ने प्रस्ताव गरे पनि त्यसमा हुनसक्ने अनियमितता र चलखेललाई ध्यानमा राखेर सरकारले स्थगित गरेको स्रोतले बतायो। 'हामीले हेलिकोप्टर खरिद नगर्ने भन्न खोजेको होइन, खरिदप्रक्रियामा हुने चलखेल र गोप्य रूपमा हुने कमिसन बाँडफाँटलाई कसरी निरुत्साहित गर्ने भन्ने हो', प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने। सेनाका लागि हेलिकोप्टर किन्ने प्रक्रिया अघि बढेको थाहा पाएसँगै ठेकेदार कम्पनीका एजेन्टले समेत चासो राखेका थिए।
स्रोतका अनुसार सेनाले फेरि हेलिकोप्टर खरिद प्रस्ताव पठाउने तयारी गरेको छ। एक सैनिक अधिकारीले भने, 'हेलिकोप्टरको संख्या नबढाउने हो भने उद्धार गर्न कठिन हुन्छ। तत्काल खरिदप्रक्रिया अघि बढाउनुको विकल्प छैन।'
सेनाले गत वर्ष भूकम्पपछि दुईवटा एमआई १७ हेलिकोप्टर रुसबाट खरिद गरेको थियो। ती हेलिकोप्टर खरिदप्रक्रियामा केही अनियमितता भएको थाहा पाएपछि सरकार तत्काल हेलिकोप्टर खरिदप्रक्रिया अघि नबढाउने निष्कर्षमा पुगेको स्रोतले बतायो।



0 comments
प्रतिक्रिया दिनुहोस्...