-->
“हतारमा पुनर्निर्माण गर्नुहुँदैन”:-(वास्तवमा कुन स्केलको क्षति भयो भन्ने आधारमा कस्तो पुनर्निर्माण गर्ने भन्ने निधो हुन्छ । जापानमा २०११ मा सुनामी आएको थियो । ठूलो क्षति भयो । पाँच वर्ष बित्दा अहिले बल्ल बाहिरबाट माटो लगेर जमिनको लेभल बढाएकाे छ)
Advertisement

भूकम्पको प्रकोप बारम्बार खेप्दै आएको जापानले नेपालमा गत वर्ष गएको विनाशकारी भूकम्पपछि आर्थिक, नैतिक, भौतिक सहयोग गर्दै आएको छ । भूकम्पपछिको पुनर्निर्माणका सम्बन्धमा पनि जापानीको गहिरो रुचि छ । जापानको योकोहामा सहरमा रहेर त्यहाँको प्रकोप रोकथाम योजना विभागका कार्यकारी निर्देशक रहेका योसिआकी हिसामात्सु अहिले नेपालमा छन् । नेपालका इन्जिनियर र कर्मचारीलाई भूकम्पको जोखिम रोकथाम गर्ने गरी कसरी भवन निर्माण गर्ने भन्ने जापानी अनुभव सुनाउन आएका उनले नयाँ पत्रिकाका पर्शुराम काफ्ले सँग मंगलबार भूकम्पको जापानी अनुभव र नेपालप्रतिको दृष्टिकोण यसरी सुनाए :
काठमाडौंको भवन भूकम्पपछि धेरै नै बिग्रियो भन्ने खबर पायौँ । विभिन्न देशबाट सहयोग पुर्याइएको पनि थाहा भयो । हामी पनि भूकम्प गइरहने मुलुकका हिसाबले यसमा चासो बढ्नु स्वाभाविकै हो । म वैज्ञानिक वा इन्जिनियर होइना, कर्मचारी (पब्लिक सर्भान्ट) हुँ । सहरको सबैभन्दा नजिक कर्मचारी हुन्छ, त्यही कारण काठमाडौं महानगरपालिकाका कर्मचारीलाई अनुभव सेयर गर्न म आएको हुँ । जापानी अनुभवले भन्छ कि पुनर्निर्माणका लागि कर्मचारीहरूको प्राविधिक क्षमता बढाउनुपर्छ । हामीले जापानमा के–के गर्यौँ भन्ने बुझाउन नेपालमा आएको हुँ । अहिले म विभिन्न तप्कासँग यही विषयमा अन्तरक्रिया गरिरहेको छु ।
०००
म पहिलोपटक म काठमाडौं आएको हुँ । आउनासाथ बागदरबार, वसन्तपुर गएँ । भूकम्पबाट वास्तवमा धेरै क्षति भएछ । मेरो मन धेरै दुख्यो । मैले नहेरुन्जेल यस्तो होला भन्ने सोचेको थिइना । जापानमा एउटा उखान छ– सयचोटि सुन्नुभन्दा एकपटक हेर्नुमा धेरै कुरा थाहा हुन्छ ।’ मैले देखेँ, धेरै भवन र मानवीय क्षति भएछ । भवन भत्किने तरिका पनि एउटै हुनुपर्छ भन्ने मेरो ठम्याइ छ । भवन किन भत्कियो भन्ने कुरा बुझ्यौँ भने कसरी बलियोसँग बनाउने भन्ने कुरा बुझ्न सकिन्छ । म यही विषयमा अनुभव बाँड्न आएको हुँ ।
०००
वास्तवमा कुन स्केलको क्षति भयो भन्ने आधारमा कस्तो पुनर्निर्माण गर्ने भन्ने निधो हुन्छ । जापानमा २०११ मा सुनामी आएको थियो । ठूलो क्षति भयो । पाँच वर्ष बित्दा अहिले बल्ल बाहिरबाट माटो लगेर जमिनको लेभल बढाएका छौँ । जमिनको लेभल बढेपछि सुनामी आउँदा सुरक्षित भइन्छ र कम क्षति हुन्छ भन्ने हाम्रो अनुभवले भन्दै आएको छ । अब बल्ल त्यो ठाउँमा घर बनाउन बल्ल सुरु हुन्छ । किनभने, जापानमा ९ रेक्टर स्केलको सुनामीको असर धेरै नै थियो ।
अर्को पनि हाम्रो उदाहरण छ । सन् १९९५ मा गएको ठूलो भूकम्पले जापानको सहर नै ध्वस्त भयो । २० वर्षमा बल्ल त्यहाँ पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणका लागि लामो समय लाग्ने रहेछ । किनभने, ठूलो स्केलमा क्षति भएको थियो । नेपालमा पनि ठूलो भूकम्प आएको र क्षति ठूलो भएकाले पुनर्निर्माण हतारमा हुँदैन । समय लाग्छ । कसरी पुनर्निर्माण गर्ने ताकि भूकम्प आउँदा असर कम होस् भनेर सोच्ने वेलाचाहिँ अहिले हो ।
०००
बलियो घर बनाउनुपर्छ भन्ने कुरा चलिरहेको छ । जापानमा पनि, नेपालमा पनि चलिरहेको छ । तर, मेरो विचारमा यो परिणाम मात्रै हो । मुख्य प्रश्न छ– कसरी बनाउने ? यसका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । जस्तो, हामी मीठो खाने भन्छौँ । तर, त्यो त्यसै बन्दैन । कसरी खाना मीठो बनाउने भनेजस्तै कसरी घर बनाउने भन्ने सोच्नुपर्छ । यसमा सरकारले निश्चित मापदण्ड बनाउनुपर्छ, जसले गर्दा ठूलो भूकम्प आउँदा पनि कम क्षति हुने गरी घर निर्माण गर्न सकियोस् ।
०००
भूकम्प आएपछि टेबुलमुनि बस्नुपर्छ, खानेकुरा राख्नुपर्छ भन्ने कुरा सही छ । तर, त्यो सबै संरचनामा हुँदैन । नेपालमा हेभी बिल्डिङ छन् । जापानमा काठमिश्रित लाइट बिल्डिङ हुन्छ । हेभी बिल्डिङ भत्किने हुनाले टेबुलमुनि बसेर सुरक्षा हुँदैन । काठका हल्का घरमा मात्रै यो सम्भव हुन्छ । जापानमा यो सही छ, तर हेभी बिल्डिङ भएको ठाउँमा सम्भव छैन । नेपामा भूकम्प जाँदा यो कुरा नजानेर पनि क्षति भयो भन्ने मैले सुनेको छु ।
०००
जापान समुद्रले मात्रै घेरिएको छैन, नेपालमा भएकाजस्ता पहाडहरू पनि छन् र त्यसबीचमा घनाबस्ती छ । त्यहाँ पनि भूकम्प आएका वेला पहिरो जान्छ, बाढी जान्छ । जापानको पहाडी भेगमा नेपालमा जस्तो पातलो बस्ती छैन, पहाडमै सहर छ । पहाडमाथिको सहर धेरै नै क्षति हुन्छ । नेपालमा त पहाडमा होइन, मैदानमा धेरै बस्ती देखेँ मैले । त्यसकारण, भूकम्प आउँदा नेपालको पहाडमा मानवीय क्षति धेरै हुँदैन ।
०००
भूकम्प आउनुअघि जापानमा पूर्वसूचना प्रणाली छ । कति गहिराइमा इपिसेन्टर छ भन्ने आधारमा तत्कालै पूर्वसूचना आउँछ । तर, योकोहामा सहरमा नयाँ प्रणाली विकसित भएको छ । त्यहाँ घरको एउटा कोठा पूरै भूकम्पप्रतिरोधी बनाइन्छ । एउटा कोठा यति बलियो बनाइन्छ कि जतिसुकै भूकम्प आए पनि, घरै भत्किए पनि त्यो कोठा केही हुँदैन । एउटा सुरक्षित कोठा बनाउन सरकारले सब्सिडी दिन्छ । मेरो विचारमा यो नेपालका लागि पनि उपयुक्त उदाहरण हुन सक्छ


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.