अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार अनुमान गरिएका डोनाल्ड ट्रम्पले अपराध नियन्त्रणका लागि कुनै जात वा समुदायको विशेष निगरानी गर्ने विधि ‘प्रोफाइलिंग’ अमेरिकाले अपनाउनुपर्ने बताएका छन्।
गत साताको ओर्लाण्डो गोलीकाण्डलाई लिएर राजनीतिक विवाद चर्किरहंदा ट्रम्पको त्यस्तो भनाइ आएको छ।
विवाद
कसैको जात, धर्म, बाहिरी रुपरेखा लगायतका आधारमा मानिसहरुले अपराध गर्न सक्ने अनुमानमा उनीहरुको विस्तृत विवरण संकलन गर्ने र निगरानी गर्ने प्रक्रियालाई ‘प्रोफाइलिंग’ भनिन्छ।
त्यस्तै विधि अमेरिकाका मुसलमानहरुको हकमा पनि अपनाउनेबारे उनको समर्थन रहन्छ वा रहंदैन भन्ने प्रश्नमा ट्रम्पले पछिल्लो टिप्पणी गरेका हुन्।
अमेरिकी टेलिभिजन सीबीएससंगको अन्तर्वार्तामा ट्रम्पले अन्य मुलुकले पनि त्यस्तो विधि सफलतापूर्वक अपनाएको बताए।
व्यक्तिगत रुपमा आफूले ‘प्रोपाइलिंग’लाई नरुचाएको तर मुलुकको रुपमा अमेरिकाले त्यसबारे सोच्न थाल्नु जरुरी भइसकेको उनले बताए।
उनले भने, “इजरेललाई हेर्नुस, अरु मुलुकलाई पनि हेर्नुस्। उनीहरुले गरिरहेका छन् र सफलतापूर्वक गरिरहेका छन्। म व्यक्तिगत रुपमा प्रोफाइलिंगको अवधारणालाई घृणा गर्छु तर अब हामीले आफ्नो दिमागको प्रयोग गर्नुपर्छ”।
न्यूयोर्कमा जन्मिएका ओमार मतिनले ओर्लाण्डोमा ४९ जनाको ज्यान लिने गरी गराएको गोलीकाण्डपछि ट्रम्पले आफ्ना टिप्पणीहरुलाई थप कडा पार्दै लगेका छन्।
आक्रमणलगत्तै उनले अमेरिकाविरुद्धको आतंकवादको इतिहास भएका सबै मुलुकका मानिसहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने बताएका थिए।
त्यसअघि उनले मुसलमानहरुलाई अमेरिका प्रवेशमा अस्थायी रोक लगाउने पक्षमा आफू रहेको पनि टिप्पणी गरेका थिए।
अमेरिकी महान्यायधिवक्ता लोरेटा लिञ्च ले भने ‘प्रोफाइलिंग’ त्यस्ता रणनीतिले मुस्लिम समुदायलाई अलग्याउने भन्दै त्यसले थप हानी पुर्याउने चेतावनी दिएकी छन्।



0 comments
प्रतिक्रिया दिनुहोस्...