-->
२० रुपैयाँमा पाइन्ट, १० रुपैयाँमा सर्ट
Advertisement

काठमाडौं, असार १६ – काठमाडौंमै २० रुपैयाँमा पाइन्ट, १० रुपैयाँमा सर्ट पाइन्छ भन्दा तपार्इंलाई अचम्म लाग्न सक्छ । तर कुरा सत्य हो । सामाखुसीको एक कपडा स्टोरमा २० रुपैयाँमा धमाधम पाइन्ट र १० रुपैयाँमा सर्ट बिक्री भइरहेको छ । अहिलेको यस्तो महँगीमा यति सस्तो सामान पाइएला ? सबैलाई अचम्म लाग्छ ।
‘हरेक सामान  १० रुपैयाँदेखि माथि’ सामाखुसीको टाउन प्लानिङमा रहेको एउटा कपडा पसलमा यस्तो लेखिएको देखेपछि सबैजना छक्क पर्छन् । के रहेछ भन्दै उनीहरु पसलमा छिर्छन । पसलमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई हुने विभिन्न किसिमका कपडा राखिएका छन् । ग्राहक दाम सोध्छन् । पसलेले २० रुपैयाँ, १० रुपैयाँ भनेपछि उनीहरु पनि मख्ख हुँदै कपडा किनेर जाने गर्छन् ।
सुखावती प्रतिष्ठानमार्फत सामाखुसीको टाउन प्लानिङमा पुराना कपडालाई पुनः प्रयोग गर्ने उद्देश्यका साथ यो पसल सञ्चालनमा ल्याइएको छ । यो पसलमा १० रुपैयाँदेखि एक हजार रुपैयाँसम्मका कपडा किन्न पाइन्छ । ‘समाज सेवा गरौं र खुसी बाँडौं’ भन्ने उदेश्यले यो पसल खोलिएको सुखावती प्रतिष्ठानका उपाध्यक्ष चीजमान गुरुङले बताउनुभयो । कोरियामा साढे दुई वर्ष बिताएर आएका चीजमानको अगुवाइमा यो पसल खोलिएको हो । उहाँ कोरियामा हुँदा ब्युटीफुल स्टोरमा काम गर्नुहुन्थ्यो । ब्युटीफुल स्टोरले पनि यस्तै पुराना कपडा बेचेर समाज सेवा गर्थ्यो । त्यहीबाट प्रभावित भएर आफूले पसल खोलेको गुरुङले बताउनुभयो ।  
समाज कल्याण परिषदमा दर्ता भई शिक्षा र महिला उद्यमशलिता निर्माणका लागि प्रतिष्ठानले काम गर्दै आएको छ । समाज कल्याणमा दर्ता गरेर पसल सञ्चालन गरेको एक वर्ष भयो । सुखावती प्रतिष्ठानका उपाध्यक्ष चीजमान गुरुङले भन्नुभयो ‘धन कमाएर टक्सनमा चढेर मात्र खुसी भईंदैन, खुसी हुनका लागि त समाजमा पनि केही गर्नु पर्छ ।’ यो प्रतिष्ठान समाज कल्याणमा दर्ता भएको एक वर्ष भएपनि यो अवधारणा लिएर विभिन्न मान्छेलाई बुझाउँदै हिँडेको चार वर्ष भइसकेको छ । ‘पहिला पुराना सामान कसले देला, कसले किनिदेला भन्ने ठूलो चिन्ता थियो, अन्तिममा सफल भयौं’ प्रतिष्ठानकी उपाध्यक्ष कमला गुरुङले भन्नुभयो ‘अहिले सबै मानिस हाम्रो पसलमा आएर बुझ्ने गरेका छन् खुसी लागेको छ ।’ 
प्रतिष्ठानले अरुले लगाएका कपडा ल्याएर १० रुपैयाँ भन्दा माथिमा बेच्ने गरेको छ । कोही व्यक्तिलाई काम नलागेको सामान अरु कसैलाई काम लाग्न सक्छ भन्ने उदेश्यका साथ यो प्रतिष्ठान सञ्चालन भएको हो । आफूलाई मन नपरेका वा साइज नमिलेका र लगाएर पुराना भइसकेका कपडा जो कोहीले पनि प्रतिष्ठानलाई दिन सक्छन् । यसरी नागरिकले दिएका कपडालाई धोएर सफा गरेर प्रतिष्ठानले बेच्ने गरेको छ । प्रतिष्ठानले एकै व्यक्तिलाई ५ वटा भन्दा बढी कपडा बेच्ने गरेको पनि छैन । एकै जनाले धेरै कपडा लगे भने उनीहरुले बेच्न सक्ने भएकाले एउटैलाई धेरै कपडा बेच्ने नगरेको उपाध्यक्ष गुरुङले बताउनुभयो । 
कसैले प्रतिष्ठानलाई दिएका कपडा लगाउन नमिल्ने खालका भएमा त्यसलाई किलोको हिसाबमा बेच्ने गरिन्छ । दैनिक पाँच ६ सय रुपैयाँको हाराहारीमा कपडा बिक्री हुने गरेको छ । कपडा किन्न आउने प्रायजसो ज्यामी र मजदुर छन् । ‘आउँदा खाली खुट्टा आउँछन्, फर्कदा जुत्ता लगाएर जान्छन्’ उपाध्यक्ष गुरुङले भन्नुभयो । हुन पनि अहिले पाँच सय रुपैयाँमा भन्दा कम मूल्यमा बजारमा एउटा पाइन्ट पनि पाईंदैन । तर २० रुपैयाँमा नै पाइन्ट पाइने भएपछि मजदुर आउने र कपडा किनेर जाने गरेका छन् । उनीहरु पनि यस्तो कामबाट खुसी भएका छन् । तर कतिपयले मरेका मान्छेको लुगा ल्याएर बेच्यो भनेर पनि आरोप लगाउने गरेको दुखेसो उपाध्यक्ष गुरुङले गर्नुभयो । ‘भन्नेको मुखलाई केही गर्न सकिँदैन  गौतम बुद्धबाट पे्ररित छु जे भने पनि सहन्छु’ गुरुङले भन्नुभयो । 
अर्कोतर्फ यो स्टोरमा सबैजसोले स्वयमसेवाका रुपमा काम गरेका छन् ।  स्वयमसेवाबाटै यो प्रतिष्ठान चलेको छ । स्वयमसेवकहरुले  पसलमा आएर कपडा छान्ने, बेच्ने काम गर्छन् । स्वयमसेवकहरु पनि यसरी सेवा गर्न पाउँदा मख्ख छन् । ‘दिउँसो घरमा टिभी हेरेर, सुतेर बस्नु भन्दा सेवा गर्दा नै राम्रो होला जस्ता लागेर सेवा गरेको हुँ, खुसी लागेको छ’ स्वयमसेवक कल्पना गुरुङले भन्नुभयो । त्यस्तै प्रतिष्ठानलाई बेला बेलामा देशविदेशबाट सहयोग पनि आउने गरेको छ । देशविदेशमा रहेका साथीभाइले पैसा पठाइदिएकाले प्रतिष्ठान चलाउन सहज भएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।  
गएको वर्ष मात्र प्रतिष्ठानले एक वर्षमा एक हजार पाँच सय किलो कपडा ल्याएकोमा २५ प्रतिशत प्रयोगमा ल्यायो । विभिन्न मेला र ठाउँमा राखिएको बिक्री कक्षबाट  एक लाख २० हजार आम्दानी भएको थियो ।  यसरी भएको आम्दानीलाई पनि प्रतिष्ठानले समाज सेवाका रुपमा प्रयोग गर्ने गरेको छ ।
भूकम्प गएको बेला प्रतिष्ठानले काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोटलगायतका जिल्लामा कपडा बाँडेर सहयोग गरको थियो । अहिले पनि कतै आपत परेर तत्काल कपडा आवश्यक परेमा प्रतिष्ठानले सहयोग गर्ने जनाएको छ ।
त्यस्तै प्रतिष्ठानले भूकम्पमा ज्यान भएका परिवारका छोराछोरीको पठनपाठनका लागि पनि आर्थिक सहयोग गरको छ । भूकम्पमा परेर ज्यान गुमाएका भक्तपुरका एक परिवारका दुई छोराछोरीलाई संस्थानले पढाएको छ । 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.