-->
आयो नुनको आपूर्ति बढ्दा ढिके नुनको आपूर्ति किन घटेन ?
Advertisement

डडेल्धुरा, असार ७ – सुदूरपश्चिममा अझै पनि ढिके नुनको प्रयोग घट्न सकेको छैन । गएका वर्षमा भन्दा आयो नुन प्रयोग गर्नेको संख्या बढेको भएपनि ढिके नुनको आपूर्ति पनि घटेको छैन ।

साल्ट ट्रेडिङ कर्पोरेसनको तथ्याङ्क अनुसार सुदूरपश्चिमका क्षेत्रमा गएका वर्षमा भन्दा अहिले आयोनुन प्रयोग कर्ताको संख्या बढेको देखिएपनि ढिके नुन सेवनकर्ता भने खासै नघटेको देखिएको हो । 

अघिल्लो अर्थिक वर्षमा ८१ हजार ५ सय ३० क्विन्टल ढिके नुन बिक्री भएकोमा यस आर्थिक वर्षको ११ महिनामा ७९ हजार ३ सय क्विन्टल खपत भइसकेको साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीको तथ्याङ्कमा उल्लेख छ । 

तथ्याङ्क अनुसार ढिके नुनको खपत खासै घटेको देखिँदैन । तर प्याकेटको नुनको प्रयोग भने बिस्तारै बढ्न थालेको देखिन्छ । आर्थिक वर्षको थप एक महिनामा ढिके नुन खपत बढ्ने साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले जनाएको छ । 

अघिल्लो अर्थिक वर्षमा ८२ हजार ५ सय ३९ क्विन्टल बिक्री भएकोमा चालु आर्थिक वर्षको ११ महिनामा ७५ हजार ६ सय १४ क्विन्टल प्याकेटको नुन खपत भएको छ । चालु आर्थिक वर्षको बाँकी रहेको एक महिनामा कम्तिमा पनि १० हजार क्विन्टल नुन खपत हुनेमा कर्पोरेसनका सहायक महाप्रबन्धक पाण्डे विश्वस्त हुनुहुन्छ ।

प्याकेटको आयोडिनयुक्त नुन सेवनकर्ताको सङ्ख्या हरेक वर्ष बढ्दै जाँदा ढिके नुनका प्रगोगकर्ता भने घट्दै जानु पर्ने हो । तर आयोनुनको प्रयोग बढ्दै जाँदा ढिके नुनको खपत पनि लगभग सोही अनुपातमा हुने गरेको कर्पोरेसनका सहायक महाप्रबन्धक पाण्डेले बताउनुभयो । उज्यालोसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘एकतातिरको खपत बढ्दा अर्कोतिरको खपत घट्नु पर्ने हो, खै के कारणले घटिरहेको छैन् म आफै अलमलमा छु ।’

आफू १६ वर्षअघि सुदूरपश्चिममा काम गर्दा एक वर्षमा तीन सय क्वीन्टल मात्रै बिक्री हुने गरेको सुनाउँदै उहाँले अहिले त्यो स्तरबाट आयोनुन बिक्री अनुपात निकै बढिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म कर्पोरेसनमा सुदूरपश्चिममा प्रवेश गरेको १६ वर्ष भयो । अनुदानको नुनलाई नजोड्ने हो भने एक सय क्विन्टल मात्रै वर्षमा प्याकेटको नुन खपत हुन्थ्यो । तर अहिले बढेको छ ।’ 

आयोनुनको प्रयोग बढ्नु राम्रो संकेत हो । तर ढिके नुनको आयात पनि घटेको छैन । के कुरामा प्रयोग भइरहेको छ त ढिके नुन ? विभिन्न गैरसरकारी संघसंस्थाले आयोनुनको प्रयोग बढाउने तथा ढिके नुनको प्रयोग घटाउन काम गरिरहेको भएपनि प्रगति सोचे अनुरुप भएको छैन । 

तथ्याङक हेर्दा कात्तिक र मंसिरमा ढिके नुन सबैभन्दा बढी बिक्री हुने गरेको छ । ‘मंसिर र कात्तिकमा यहाँका बासिन्दाले ढिके नुनसँग भटमास साट्ने गरेका छन्, त्यही भएर पनि यी दुई महिनामा मात्र एक आर्थिक वर्षमा बिक्री हुने कुल ढिके नुनको ४० प्रतिशत बिक्री हुने गरेको छ’ सहायक महाप्रबन्धक पाण्डेले भन्नुभयो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.