इटहरी, १४ असार, बालिका तथा किशोरीहरुलाई यौन कार्यमा लगाएर शोषण गर्ने होटल, रेष्टुरेन्ट तथा क्याबिनहरु बन्द भएपनि त्यस्ता बालिका तथा किशोरीहरु अझै पनि होटल सञ्चालकको सम्पर्कमा रहेको उप्का नेपालले जानकारी दिएको छ । वार्षिक लेखा परीक्षण कार्यक्रमका क्रममा उप्का नेपालले सञ्चालन गरेको अवसर, परियोजना र चुनौतिको विषयमा जानकारी दिँदै बालिका तथा किशोरीहरु अझै असुरक्षित रहेको जनाएको हो । प्लान नेपालको सहयोगमा उप्का नेपालले मनोरञ्जन क्षेत्रमा कार्यरत किशोरी तथा बालिकाको उद्धार र पुनस्र्थापना गर्दै आएकोमा बालिका तथा किशोरीहरु अझै जोखिममा रहेको जनाएको हो । त्यस्ता बालिका तथा किशोरीलाई होटल सञ्चालकले अझै दुरुपयोग गर्ने सम्भावना रहेको सो संस्थाले औल्याएको छ । यस्तै सरकारी निकायहरुले पनि सक्रियताका साथ काम गर्न नसकेको र नीतिगत समस्या भएको जनाएको छ । किशोरीहरुको लागि सञ्चालित उक्त परियोजनाका क्रममा महिलाहरु पनि सम्पर्कमा आउँदा के गर्ने भन्ने समस्या छ । यस्तै महिलाहरुलाई रोजगारी दिने रोजगारदाताले महिलाहरलाई बोझ र समस्याको रुपमा हेर्न थालेको प्रतिवेदनमा उल्लेख छ । महिलालाई काममा राख्नु भनेको झन्झट व्यहोर्नु हो भन्ने धारणा विकास भएको संस्थाले जनाएको छ । सुनसरीका होटल लज र रेष्टुरा जस्ता क्षेत्रमा काममा लगाइएका किशोरी वा बालिकाहरुमाथि श्रम शोषण, बालश्रम र यौन हिंसा विरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उप्का नेपालले परियोजना सञ्चालन गर्दाको उपलब्धी र चुनौतिहरुसँगै आफ्नो वार्षिक आयव्ययका साथै प्रगती विवरण सार्वजनिक गरेको थियो । बालिका तथा किशोरीहरुको अवस्थालाई अध्ययन र विश्लेषण गरेर उद्धार गर्ने र विभिन्न सीपमुलक तालिम दिइ वैकल्पिक पेशामा आयआर्जन गर्न प्रोत्साहन गर्ने गरी प्लान नेपालको सहयोगमा उप्का नेपालले अवसर परियोजना सञ्चालन गर्दै आएको छ । उप्का नेपालले ४० जना निकृष्ठ बालश्रममा लगाइएका बालबालिकाहरुको उद्दार गरेर उनीहरुलाई समाज एवम परिवारमा पुनस्थापित गराइएको तथ्याङ्क सार्वजनिक गरेको छ । यस्तै ५७ जनालाई सीपमुलक तालिम दिएको, ५० जनालाई जिविकोपार्जनमा सहयोग गरेको, अनौपचारिक कक्षा शिक्षा १४ जनालाई दिइएको जानकारी दिएको छ । यस्तै जीवनउपयोगी कक्षामा जोखिममा रहेका तथा जोखिमको सम्भावनामा रहेका ३०३ जना बालिकाहरुलाई भेला गरेर उनीहरुलाई निरन्तर परामर्श दिने गरेको जानकारी दिइएको छ । त्यसैगरी परियोजनाले बालबालिकाहरुलाई बाल बचतमा समेत सम्लग्न गराएको छ । कार्यक्रमका अवसरमा होप परियोजना सञ्चालनको लागि यो वर्ष ३३ लाख ५० हजार रुपैयाँ खर्च भएको लेखापाल श्रद्धा लिम्बूले जानकारी दिइन् । यसैगरी अवसर परियोजना दोस्रोको लागि यो वर्ष प्रशासनिक र कार्यक्रम खर्च समेत गरेर जम्मा ९६ लाख ५८ हजार खर्च भएको जानकारी दिइएको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...