-->
वेल्सभन्दा पछि पर्‍यो इंग्ल्याण्ड, समूह उपविजेतामा सीमित
Advertisement

असार ७ – इंग्ल्याण्ड युरोकप फुटबलको अन्तिम १६ मा पुगेको छ । सोमबार राति भएको खेलमा स्लोभाकियासँग गोलरहित बराबरीमा रोकिएको इंग्ल्याण्ड समूह बीको 
उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्याण्ड समूहको अन्तिम खेलमा बराबरीमा रोकिन बाध्य भयो । यसले गर्दा इंग्ल्याण्ड पछि पर्यो र रुसलाई हराएको वेल्स समूह विजेता बन्यो । 
इंग्ल्याण्डले केही राम्रो मौका बनाएको थियो तर स्लोभाकियाका गोलरक्षक माटुस कोजासिकले सुन्दर बचाउ गरे । पहिलो हाफमा जेमी भर्डीले गरेको सुन्दर प्रहार कोजासिकले बचाएका थिए । 
यस्तै दोस्रो हाफमा नाथनिएल क्लाइनको प्रहार पनि कोजासिकले बचाए । कप्तान वायने रुनी ५५ मिनेटपछि मैदान छिरेपछि टिमलाई बराबरीबाट अघि लैजान सकेनन् । डेल अलीले पनि राम्रो प्रहार गरेका थिए तर त्यो पनि गोलमा परिणत हुन भने सकेन । 
यसअघिका खेलमा वेल्सलाई २–१ ले हराएको तथा रुससँग १–१ को बराबरी खेलको इंग्ल्याण्डको पाँच अंक भएको छ । इंग्ल्याण्डले अन्तिम १६ अन्तर्गत आउँदो सोमबार समूह एफको उपविजेतासँग खेल्ने छ । 
यसको अर्थ इंग्ल्याण्डले नकआउट चरणमा हंगेरी, पोर्चुगल, आइसल्याण्ड वा अस्ट्रियासँग खेल्नु पर्ने छ । यस्तै इंग्ल्याण्डलाई बराबरीमा रोकेको स्लोभाकियाको उत्कृष्ट चार तेस्रो भित्र पर्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम छ । 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.