-->
अन्ततः कांग्रेसलाई सहमतिमा ल्याउन प्रधानमन्त्री ओली सफल, भोलि संसद
Advertisement

काठमाडौं, १३ असार । चार दिनदेखि व्यवस्थापिका संसद अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सहमतिमा ल्याउन सरकार सफल भएको छ ।

सरकारले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ अनुदान दिनुपर्ने र त्यसका लागि सरकारबाट स्पष्ट प्रतिबद्धता आउनुपर्ने माग राख्दै कांग्रेसले चार दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको थियो । प्रतिबद्धता प्रधानमन्त्रीले गर्नुपर्ने उसको शर्त थियो ।

कांग्रेसका यी माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रमुख चार दल सम्मिलित कार्यदल गठन गरेपछि कांग्रेस सहमतिमा आएको हो । उसका माग सम्बोधन गर्न यो कार्यदलले गृहकार्य सुरु गरिसकेको छ ।

कार्यदलका सदस्य एवं राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले कार्यदलले कांग्रेसका माग सम्बोधन गर्न गृहकार्य सुरु गरेको बताउँदै पहिलो बैठकमा कांग्रेस सकारात्मक देखिएको र भोलिदेखि संसद खुल्ने जानकारी दिए ।

‘दातृ राष्ट्रहरुसँग भएको सम्झौताविपरित नहुने गरि विकल्प खोज्ने सहमति भएको छ’ उनले भने- ‘भालि मंगलबार दिउँसो साढे तीन बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि अबरुद्ध बैठक सूचारु हुन्छ ।’ उनका अनुसार कार्यदलको अर्काे बैठक भोलि बिहान सिंहदरवारमा बस्नेछ ।

प्रधानमन्त्रीको उपस्थितिमा सहमतिका लागि भएको छलफलपछि सोमबार दिउँसो काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, डा प्रकाशशरण महत र सत्ता पक्षका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावल र नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीलगायत नेता सम्मिलित कार्यदल गठन गरिएको थियो ।

संसदमा वर्तमान सरकारले बजेट प्रस्तुत गरेपछि विभिन्न विषय उठाउँदै कांग्रेसले लगातार संसद अवरुद्ध गरिरहेको छ ।




Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.