काठमाडौं, १३ असार । अमेरिकी हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाली सैनिकका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
विनाशकारी भूकम्पको समयमा गत वर्षको वैशाख २९ गते खोज तथा उद्धार कार्यको लागि दोलखाको सुनखानी क्षेत्रमा गएको अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना हुंदा अमेरिकी सैनिकसहित नेपाली सेनाका तत्कालिन सह सेनानी तपेन्द्र बहादुर रावल र जमदार बसन्त बहादुर तितराले ज्यान गुमाएका थिए ।
रावल र तितराको परिवारको सहयोगका लागि अमेरिकास्थित सिकागो निवासी नेपाली समुदायहरुको समन्वयमा संकलित रकम सोमबार द उइङम्यान फाउण्डेसनका प्रतिनिधिले जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई हस्तान्तरण गरेका छन् ।
सिकागो निवासी नेपाली समुदाय र अमृत कडेंलको पहलतामा द उइङम्यान फाउण्डेसनद्वारा संकलन गरिएको रकम १ लाख ६३ हजार ५६० रुपैयाँ मध्ये प्रति परिवारलाई ८१ हजार ७८० रुपैयाँ मृतक सैनिकका परिवार समक्ष पुर्याउनका लागि उक्त कार्यक्रममार्पmत नेपाली सेनालाई हस्तान्तरण गरिएको हो ।
उक्त दुर्घटनामा ज्यान गुमाएका सह सेनानी रावल र जमदार तितराले देश, जनता र नेपाली सेनालाई पुर्याएको योगदानको कदर स्वरुप ०७२ बैशाख २९ गतेबाट मरणोपरान्त एक दर्जा माथि क्रमशः सेनानी र सुवेदार दर्जामा पदोन्नति गरिएको थियो ।
उक्त कार्यक्रमको अवसरमा प्रधान सेनापति क्षत्रीले सहयोगको लागि आभार व्यक्त गर्नुका साथै उक्त रकम सम्बन्धितको परिवार समक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरे । सोही अवसरमा नेपाली सेनाका रथीबृन्द, अमेरिका निवासी नेपाली नागरिक कृष्ण लामिछाने, ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डे र डम्मर साहुको उपस्थिति रहेको थियो ।
नेपाली सेनाको त्याग, समर्पण र बहादुरीलाई सम्मान गर्दै मृतक सैनिकका परिवारलाई आर्थिक सहयोग प्रदान गरेकोमा नेपाली सेनाले आभार प्रकट गरेको छ ।
dainiknepal



0 comments
प्रतिक्रिया दिनुहोस्...