बर्दिबास – यदि तपाईं परिवारको उज्जवल भविष्यको लागि भन्दै विदेश गएर दिनरात दुःख गरेर खटिनुहुन्छ । परिवारको सबै इच्छा पूरा गर्न समय–समयमा पैसा पनि पठाउनुहुन्छ । तर, जब तपाईं घर फर्किन्छु, घर फर्कँदा न त तपाईंले आफ्नो श्रीमती पाउनुहुन्छ, न त तपाईंले विदेशमा दुःख गरेर कमाएको सम्पत्ति । यस्तो स्थिति तपाईंले भोग्नुभयो भने के गर्नुहुन्छ ?
ठीक यस्तै घटनाको शिकार बनेका छन् महोत्तरीको खयरमारा–५ घर भएका ३३ बर्षीय कृष्णबहादुर घिसिङ्गले । बालबच्चाको भविष्य बनाउन ७ बर्ष अघि वैदेशिक रोजगारका मलेशिया हानिए । सुनौलो सपनाको तान बुनेर उनी गाउँकै साहुबाट १ लाख ५ हजार लिएर प्लेन चढेर मलेशिया उडे ।
७ बर्ष विदेशमा बसेर पसिना चुहाएर रुपैंया कमाएको सबै रकम आफ्नी श्रीमति पूर्ण कुमारी घिसिङ्गको नाममा पठाए । पटक–पटक गरेर झन्डै २० लाख रुपैंया पठाएका थिए । तर, ४० दिन अघि जब विदेशबाट कृष्ण घर आए तर घरमा उनले न कमाएको रुपैयाँ भेटे, न श्रीमति नै । आफूले विदेशमा कमाएको रकम लिएर श्रीमती अर्कैसँग पोइला गएको खबरले कृष्ण छाँगाबाट खसेझै भए ।
कृष्ण विदेशीएपछि पूर्ण कुमारी दुई छोरी सहित माइतमा बस्न थालेकी थिइन् । बर्दिबास स्थित माइस्थान वडा नम्बर १० मा पूर्णकी आमा पदममायासंगै दुई छोरी लिएर बसिन् ।
२०७२ बैशाख १२ गतेको भुकम्पपछि पूर्ण कुमारी कमाउन भन्दै आफ्नी आमालाई दुई छोरीको जिम्मा लगाई बस चढेर काठमाडौं गइन् ।
गार्मेन्टमा काम गर्न काठमाण्डौ गएकी भनिएकी उनी अहिले सम्म घर फर्केकी छैनन् । उनी तेह्रथुमकी युवकसंग भागेको आमा पदममायाले बताइन् । उनी भन्छिन्,‘काठमाडौंमा गइन । लभ परेछ, भागे छिन् ।’
कृष्ण भन्छन्, ‘दुःखगरि विदेशमा कमाए । घर आउँदा श्रीमती पनि छैन । कमाएको धन पनि छैन । सबै उसैले लिएर गई ।’ कृष्ण अहिले रुनु न हाँस्नु अवस्थाको सामना गर्दै छन् । कृष्ण सोमबार इलाका प्रहरी कार्यालय बर्दिबासमा आएर उजुरी गरेको प्रहरी नायव उपरिक्षक शालिग्राम शर्माले बताए ।
कृष्णकी जेठी छोरी नविना अहिले १४ बर्षकी छिन् । उनी ८ मा पढछिन् । ६ बर्षकी कान्छी छोरी रविना अहिले पनि आमा कहिले आउने भनी आफ्नी हजुरआमा (पूर्णकुमारीकी आमा) पदममायालाई सोध्द छिन् । तर उनकी हजुर आमाले उनलाई उत्तर दिन सकेकी छैनन् ।
प्रहरी कार्यालय पुगेकी रविना इलाका प्रहरी कार्यालयमा हजुरआमाको काँखमा रुदैं थिइन् ।
‘श्रीमतिले आफूसँग घरमा सबै राम्रै रहेको फोनमा कुराकानी हुन्थियो । खटपट कहिले भएन ।,’ कृष्णले भने, ‘म पैसा कमाएर बेलाबेलामा पठाइरहन्थे । उनी बालबच्चाको भविष्यप्रति चिन्तित भएको कुरा गर्थिन् । जग्गा जोडनुपर्छ, पछि काम लाग्छ भन्ने जस्ता कुरा गर्थिन् ।’ कृष्णले विदेशबाट कमाएर पठाएको रुपैंयाले पूर्णकुमारीले खयरमारा र माइस्थानमा अढाई कठ्ठा खेत जोडेकी रहेछिन् । तर त्यो जग्गा आफ्नै नाममा राखेकी थिइन् । ‘त्यो पनि बेचेर छोरीहरुको बिजोग पारेर यो अवस्था ल्याइन्,’ कृष्णले भक्कानिँदै भने ।
कृष्णले घरपरिवारका अन्य सदस्यलाई भन्दा आफ्नी श्रीमतीलाई पूरै विश्वास गरेका थिए । ‘आफन्तले तेरो श्रीमति भागीभन्दा मलाई विश्वास लागेन । माइतमा छु भन्थिन्,’ उनले भने, ‘बेलाबेला फोनमा गफ हुन्थियो । पछिल्लो समय विरामी भइभनेर उपचारको लागि समेत पैसा पठाएँ । तर अहिले आएर बुझ्दा त्यो भन्दा पहिलानै अर्कैसँग पोइला गइसकेकी रहिछे । कत्रो विश्वास घात गरिछे ।’
कृष्ण केही दिनको लागि विदामा घर आएका थिए । अबको दश दिन भित्र उडनु पर्ने भिसा छ । दुई बच्चीको पालन पोषण कसले गर्ने ? कहाँ जिम्मा लगाएर जाने । नजाउँ त पहिला कमाएको सम्पत्ति केही छैन । यिनै बच्चाहरुको पढाइ लेखाई, पालन पोषणको लागि समेत पैसा कमाउनु पर्ने आवश्यकता छ भन्दै दोसाँधमा परेका छन् ।



0 comments
प्रतिक्रिया दिनुहोस्...