-->
जोडिदै धरान–हेटौंडा
Advertisement

असार १४, मैनामैनी / ५ महिना लामो मधेस आन्दोलनका बेला पूर्व जोडेर चर्चामा आएको र फेरी ओझेलमा परेको धरान–चतरा–गाईघाट–कटारी–सिन्धुलीबजार–हेटौंडा ३१८ किलोमिटर सडकखण्ड फेरी एकपटक चर्चामा छ । आगामि  ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य प्रस्तुत भएपछि सडकखण्डमा पर्ने जिल्लावासीहरु आशावादी देखिएका छन् ।


२ भदौ २०६५ मा सप्तकोशीको बाँध फुटेपछि पूर्व , राजधानी सँग सम्बन्ध विच्छेद हुन पुग्यो । त्यसैवर्षदेखि वैकल्पिक सडकको आवश्यकता महसुस गरी आर्थिक वर्ष २०६४/०६५ देखि यो सडकखण्ड निर्माण सुरु गरिएको थियो । विभिन्न समयमा बनेको जिल्लास्तरीय बाटोहरुलाई जोड्दै यो सडकखण्डलाई बैकल्पिक मार्ग निर्माणको काम थालिएको थियो ।

सुनसरीको धरानदेखि मकवानपुरको हेटौंडा जोड्नेगरी सुरु गरिएको सडक खण्डले त्यसपछि भएको पटक पटकको मधेस आन्दोलनको समयमा पूर्वलाई राजधानी सँग जोडेर आफ्नाे महत्व प्रष्ट पारेको थियो । त्यसका लागि १८ साउन २०७२ मा सप्तकोशीमा रहेको उदयपुर र सुनसरी जोड्ने चतरामा पक्की पुल निर्माण भई तत्कालिन प्रधानमन्त्री शुशिल कोईरालाले उदघाटन गरेपछि धरान–गाईघाट–कटारी–घुर्मी–खुर्कोट हुँदै पहाडै पहाड राजधानी आउजाउ गर्न सहज भएको थियो । सप्तकोशीमा बाँध फुटेपछि विकल्पमा फेरी संञ्चालनमा ल्याईएको चतराघाटमै नै पक्की पुल निर्माण गरी संञ्चालनमा छ ।

उक्त सडकखण्डलाई तीनवर्षमा निर्माण सम्पन्न गर्ने गरी बजेट विनियोजन भएपछि स्थानीय उत्साहित भएको नेकपा एमाले उदयपुरका जिल्ला कमिटी सदस्य हृदय थिङ्गले बताए । ‘जनता उत्साहित छन् , राजनीतिक अस्थिरता कम हुँदै गए पक्कै सडक निर्माण सम्पन्न होला भन्ने आशा लिएका छौं । ’सडक निर्माण हुनेभएपछि सडकखण्डमा पर्ने स्थानीयले जग्गाको भाउ समेत बढाउन थालेको उनले बताए ।


सबै जिल्लाका अधिकाँस ग्रामिण ट्रयाक खुलिसकेको बताउँदै सिन्धुलीका एमाले सासंद गणेश पहाडीले तीनवर्षमा सडक सम्पन्न हुने दावी गरे । ‘तीन वर्ष भित्रमा सडक संञ्चालनमा ल्याउँछौ । ’उनले भने– ‘यो बजेट मात्र काफी होईन , आगामी वर्ष पनि यो सडकमा बजेट छुट्याएर पनि सडक संञ्चालनमा ल्याउने छौं । ’त्यसैगरी उदयपुरबाट निर्वाचित नेपाली काँग्रेसका सांसद नारायण बहादुर कार्कीले पनि तीन वर्षमा सडक संञ्चालनमा ल्याउने बताए । ‘यो सडकखण्डमा अहिले कुनै अवरोध छैन र आउने पनि छैन् त्यसैले सडक बन्छ । ’कार्कीले भने –‘कालोपत्रे नबन्ला तर ग्राभेल नै भएपनि सडक संञ्चालनमा आउँछ । ’

कछुवा गतिमा काम भएको भन्दै आलोचित यो सडकले पछिल्लो पटकको ५ महिने मधेस आन्दोलनका समयमा पहाडै पहाड आउजाउ गराएपछि सबैको नजर यो सडकमा परेको थियो । संसदमा समेत यो सडकले छुने जिल्लाका सांसदहरु बीच छलफल भएको बताउँदै साँसद कार्कीले कुनै विवाद नरहेको बताए । ‘पछिल्लो समय यो सडकका वीच छलफल भयो सबै एकमत छौं ’उनले भने ।

सडकखण्डको सिन्धुली क्षेत्रमा २२ किलोमिटर ट्रयाक खुल्न बाँकी भएपनि यसैवर्ष खुल्ने सांसद पहाडीले बताए । ‘हाम्रो जिल्लामा केही ट्रयाक खुल्न बाँकी छ त्यो पनि छिट्टै खुल्नेछ । ’त्यसैगरी सिन्धुलीमै रहेको कमलानदीको पक्की पुल पनि बजेट अभाव र ठेकेदारको लापार्वाहीका कारण ढिलासुस्ती भएपनि अव भने कामले तिव्रता पाउने उनले बताए ।


उदयपुरमा पर्ने सडकखण्डमा ग्रामिण ट्रयाक खुलिसकेको छ । उदयपुर र सिन्धुली जोड्ने ककरुखोलाको पुलमा पक्की पुल नहुँदा वर्षामा ग्रामिण सडक पनि संञ्चालनमा आउन सकेको छैन् । तर यसैवर्ष देखि ककरु खोलामा पनि पुल निर्माणका लागि काम थालिएको छ । सडकखण्डको सबै पुल र सडक निर्माणका लागि टेण्डर आव्हान भईसकेकोले सडक निर्माण तीनवर्षमै सम्पन्न हुने आयोजनाका प्रमुख जितेन्द्रराज शाक्यले बताए । ‘ सबै पुल र सडकको टेण्डर आव्हान भैसकेकोले कामले तिव्रता पाउँछ । ’उनले भने । तीन वर्ष भित्र सडक संञ्चालनमा ल्याउन कामलाई निरन्तरता दिने शाक्यको भनाई छ ।

यो सडक बनेपछि बारा , रौतहट , सर्लाही , धनुषा , महोत्तरी , सिरहा हुँदै मोरङ्गसम्म तराईका जिल्ला नछोईकन हेटौंडा , सिन्धुली , उदयपुर हुँदै मोरङ्ग पुग्न सकिनेछ । यो बजेट भन्दा अगाडि सरकारले १० देखि १३ करोड मात्रै बजेट विनियोजन गरेकोले कामले तिव्रता पाउन नसकेको आयोजना प्रमुख शाक्यले बताए ।शाक्यका अनुसार आयोजना सुरु गरेको ३ वर्ष सम्म सरकारले बजेट नै नछुट्टएको पनि उनले बताए ।



‘त्यसैले गर्दा पनि ७ वर्षमा पनि केही काम देखिएन ।’उनले भने । घरछेउबाट सडक आउने भएपछि स्थानीयले मूअब्जा समेत नलिने बताएका थिए । अहिले सडकखण्डको ८ स्थानमा पुल निर्माण भैरहेको छ । मधेसमा भएको ५ महिना लामो बन्दका समयमा यो सडकले राहत दिएपछि यसले प्राथमिकता पाएको थियो । सडक निर्माण भएपछि यसले ग्रामिण क्षेत्रमा बजारीकरण गर्ने भएकाले पूर्वका व्यापारी व्यवसायीहरु समेत उत्साहित देखिएका छन् ।




Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.