-->
हतार- हतार किन फर्किए २४ नेपाली अफगानिस्तानबाट ? कम्पनीले स्कर्टिङ नदिँदा साथीहरुको ज्यान गयो’
Advertisement

मेरो नाम वीरवहादुर खत्री  । घर इटहरी  ५, सुनसरी  । हाम्रा साथीहरू अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती  आक्रमणमा मारिए । खासमा हामीलाई काममा लगाएको कम्पनीको व्यवस्थापकीय कमजोरीका कारण साथीहरूको ज्यान गएको हो ।


मृतकहरुको शव लिन नेपालबाट जहाज आउँदैछ भन्ने सुनेपछि हामीले नेपाल फर्कन्छौं भन्यौं  । तर कम्पनीको साहुले हामी आफ्नै ढङ्गले फर्काउँछौं, तिमीहरू जान पाउँदैनौं भनेर शुरुमा हामीलाई अनुमति दिएन । तर नेपालको परराष्ट्र मन्त्रालयका अधिकृतहरुले अफगानिस्तानका समकक्षीसँग कुरा गरेर मिलाउनुभयो र उड्न लागेको जहाज पनि रोकेर हामीलाई लिएर आउनुभयो । हामी नेपाल सरकारसँग आभारी छौँ ।

                   
हामीलाई काममा लगाएको ब्रिटिस कम्पनी सेडरले श्रम शोषण गरिरहेको छ । कम्पनीको व्यवहार पटक्कै राम्रो छैन । हामीलाई क्याम्पमा बसाइन्छ । हामी बसेको ठाउँबाट क्यानाडाको  राजदूतावाससम्म पुग्न तीन किलोमिटरको दूरी तय  गर्नुपर्छ । त्यो तीन किलोमिटर पार गर्न बसमा १० मिनेट लाग्छ । तर हामीलाई त्यो १० मिनेट १० घण्टा जस्तै  लामो लाग्छ ।

साह्रै आतंकित भइन्छ यात्राका क्रममा । हामीलाई त्यहाँका स्थानीयले देखि सहदैनन् । गाडी रोकेको ठाउँमा आँखा तरेर हेर्छन् । खाउँला झैँ गरेर हेर्छन् । बाहिरबाट गएकालाई पटक्कै मन पराउँदैनन् । हामी अन्य देशबाट आएर त्यहाँ काम गर्दा उनीहरूको रोजीरोटी खोसिएको जस्तो गर्छन् ।

खासमा कम्पनीले बुलेटप्रूफ  सवारीसाधनमा अघिपछि सुरक्षाा व्यवस्था (स्कर्टिङ) गरेर हामीलाई क्याम्पबाट दूतावाससम्म लैजानुपर्ने हो । अरू कम्पनीले त्यसै गर्छन् । तर हामीलाई भने थोत्रा बसमा कोचेर यात्रा गराइन्छ । बाध्यताले गर्दा हामी त्यस्ता बसमा डराइ डराइ यात्रा गर्न विवश थियौँ । कुनै पनि दिन हामीमाथि आक्रमण हुन सक्छ भन्ने लाग्थ्यो ।

नभन्दै त्यस्तै दुःखद घटना भयो । १२ जना साथीहरू मारिएपछि मुटु काँप्न थाल्यो । धेरै नै डर लाग्न थाल्यो । कम्पनीले हामी चढ्ने बसको अघिपछि स्कर्टिङको व्यवस्था मिलाएको भए साथीहरूको ज्यान जोगिन सक्थ्यो । कम्पनीसँग कुरा गर्यो, आश्वासन मात्र दिन्छ, दह्रो व्यस्थापन गर्दैन ।

मेरो तलब नौ सय ५० डलर थियो महिनामा । विरामी पर्दा औषधि  उपचारखर्च पनि दिंदैन कम्पनी । अलि बढी गम्भीर विरामी भएर कम्पनीले खर्च गर्नैपर्ने अवस्था आयो भने नेपाल फर्की  भनेर धम्की दिन्थ्यो  । क्याम्पबाट दूतावाससम्म जाने बाटोमा भरपर्दो सुरक्षा दिने विषयमा कहिल्यै सोंच्दैन । राम्रा बस ल्याउँछु, सुरक्षा दिन्छु भनेर पटक पटक आश्वासन दिने गर्थ्यो  ।

तर त्यो कहिल्यै पूरा गरेन । १२ घण्टा ड्युटी गर्न लगाउँछ । तर ओभरटाईम काम गरेवापत केही पनि दिंदैन । वर्षमा एकचोटी बोनस  पनि दिंदैन  । लगाउने कपडा (युनिफर्म) पनि आफ्नै खर्चमा किन्नु पर्छ ।

अब  म त कहिल्यै पनि अफगानिस्तान जान्नँ । र अन्य नेपाली साथीहरूलाई पनि त्यहाँ नजान सुझाव दिन्छु । त्यहाँ जानु भनेको काल खोज्नु हो । त्यहाँ भएका साथीहरूलाई पनि म नेपाल फर्कन सुझाव दिन्छु । ज्यानै माया मारेर किन काम गर्ने ?   


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.