नयाँ दिल्ली– दिल्लीस्थित एपोलो हस्पिटलले एक गरिब नेपाली परिवारलाई जालमा पारेर लुटेको आरोप त्यहाँका सञ्चारमाध्यमले लगाएका छन् । ४ वर्षीया छोरी सफिलाको उपचारका लागि घरजग्गा बेचेर भारत पुगेका तोहिद अलि मियाँले उपचारका क्रममा आफू लुटिएको बताएका छन् । अप्रिल २ मा एपोलो हस्पिटलमा छोरीको जाँचका लागि पुगेका थिए । डा ज्योति दया शंकरले सफिलालाई जाँचेका थिए । जँचाउँदा मात्रै रु ३० हजार खर्च भएपछि उनीहरु उक्त हस्पिटलमा उपचार गर्न नसक्ने निष्कर्षमा पुगेर गेष्ट हाउस फर्किएका थिए । अस्पतालमा भनेका थिए, ‘यति महंगो उपचार गर्न सकिदैन ।’ समाचारका अनुसार उक्त दम्पत्तिले अल इन्डिया मेडिकल इन्सिच्युट (एम्स)मा उपचार गर्ने निर्णय गरेका थिए । यही बिचमा एपोलोबाट उनीहरुलाई फोन गयो, ‘एकपल्ट डाक्टर तपाईंको छोरीलाई हेर्न चाहन्छन् । अस्पतालको गाडी तपाईंको गेष्ट हाउस अगाडि छ आइहाल्नुहोस् ।’ छोरीको ज्यान जोगाउन घरजग्गा बेचेर इन्डिया पुगेका उनीहरुमा आशा पलाउँछ र फेरि छोरीलाई लिएर एपोलोकै गाडीमा अस्पताल पुग्छन् । सफिलालाई थाइलासेमिया भएको र उनको बोनम्यारो ट्रान्सप्लान्ट सफलताका साथ गर्न सकिने त्यहाँका डाक्टर बताउँछन् । सानी गुडिया जस्ति राजकुमारीको उपचारका लागि सक्दो डिस्काउन्ट गर्ने भन्दै डाक्टरले अन्त कतै नलैजान आग्रह गर्छन् । डाक्टरले उनीहरुलाई १२ लाख रुपैयाँ लाग्ने पनि बताउँछन् । आफ्नी प्यारी छोरीको जीवनका लागि उनीहरु १२ लाख तिर्न तयार हुन्छन् । उनको २३ मे मा बोन म्यारो ट्रान्सप्लान्ट गरिन्छ र त्यसपछि सुरु भएको इन्फेक्सनले २८ मे मा सफिलाको मृत्यु हुन्छ । सफिलाको बुवाको अनुसार श्वास चलिरहेको भन्दै १० दिन आइसियूमा राखियो । आईसियूमै रहँदा उनलाई छोरी जिवित नरहेको महशुस भएर लास माग्छन् । त्यसपछि अस्पतालले बच्चीको लास चाहिन्छ भने २८ लाख रुपैयाँ जम्मा गर्न भन्छ । उनले जसोतसो १४ लाख रुपैयाँ तिरेर लास लिएर अन्त्येष्टी गर्छन् । त्यसपछि आफूले पाएको दुःखलाई लिएर अस्पताललाई इमेल लेख्छन् तर अस्पतालले कुनै रेस्पोन्स गर्दैन । यो घटनामा अस्पतालले सुरुमा देखाएको हार्दिकता र अन्तिममा गरेको वेवास्तालाई लिएर अहिले भारतीय मिडियामा टीप्पणी सुरु भएको छ । सोध्न थालिएको छ, ‘एपोलो अस्पतालको नीति र नियती के हो ? आफ्नो आम्दानी बढाउन सुरुमा गेष्ट हाउसमा गाडी पठाउने अस्पतालले पैसा लिएर पनि बच्चीको ज्यान नजोगाउँदा संवेदना व्यक्त गर्न किन जरुरी ठानेन (स्रोत स्वास्थ्य खबर)



0 comments
प्रतिक्रिया दिनुहोस्...