असार ८ – पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको मुड र खेल भइरहेको फ्रान्सको राजधानी पेरिसको मौसम उस्तै छ । गोलरहित रोनाल्डो निराश तथा रिसाहा देखिएका छन् ।
पेरिसको मौसमको पनि भरोसा छैन, चर्को घाम अनि वर्षा । गएको शनिबार राति रोनाल्डोको राष्ट्रिय टिमबाट एक सय २८ औं सहभागिता थियो । जुन कीर्तिमानी सहभागिता हो । तर त्यसलाई रोनाल्डोले सम्झन लायक बनाउन भने सकेनन् । पेनाल्टीमा चुकेका रोनाल्डोकै कारण टिम जितबाट पर रहन बाध्य भयो ।
यस्तै उनले १० पटकसम्म पोस्ट प्रहार गरेपछि गोलमा परिणत भने हुन सकेन । यो युरोकपका दुई खेलमा गरेर रोनाल्डोले २० पटकसम्म गोल गर्ने प्रयास गरेका छन् तर एउटा पनि सफल भएको छैन । समूह एफमा रहेको पोर्चुलग दुई अंकसहित तेस्रो स्थानमा छ । समूहको पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएपछि रोनाल्डोले आइसल्याण्डका खेलाडीले साँघुरो मानसिकता देखाएको भन्दै आलोचना गरेका थिए । यसले उनको निराशा तथा त्यसबाट उत्पन्न भएको रिसलाई देखाउँछ ।
बुधबार राति हंगेरीसँगको खेल जित्नसके मात्रै उसको प्रतियोगितामा रहने सम्भावना छ । सबैको ध्यान अहिले रोनाल्डोले यो खेलमा टिमलाई अघि लैजान सक्छन् त ? भन्नेमा छ ।
तर जस्तो भएपनि रोनाल्डो अप्ठ्यारोमा परेका बेला टिमलाई माथि उठाउने क्षमता राख्ने खेलाडी हुन् । उनले सन् २०१३ को नोभेम्बर १९ मा
विश्वकप छनौट अन्तर्गत स्वीडेनसँगको प्लेअफको दोस्रो लेगमा ह्याट्रिक गरेर टिमलाई जित दिलाएका थिए । बुधबार राति हंगेरीसँगको खेलमा पनि रोनाल्डोले यस्तै चमत्कार गर्नेमा धेरैको विश्वास छ । टिमका प्रशिक्षकलाई पनि यस्तै विश्वास छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...