काठमाडौं, असार १२ । व्यवस्थापिका–संसद्को आजको तेस्रो बैठक पनि अवरुद्ध भएको छ । बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दलका सांसद अर्जुनप्रसाद जोशीले भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न रु दुई लाख दिने विषयमा प्रतिपक्षी दलसँग सरकारले खुलेर कुराकानी गर्न नचाहेको आरोप लगाउँदै बैठक चल्न नसक्ने जनाएका थिए ।
उनले भूकम्पपीडित जनतालाई घर बनाउन एकमुष्ट रु दुई लाख दिने सरकारको लिखित प्रतिवद्धता नआएसम्म सदन चल्न नसक्ने जानकारी गराएलगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु आ–आफ्ना आसनबाट उठेका थिए ।
सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीबाट संसदलाई यसबारे जानकारी हुने जनाउँदै प्रधानमन्त्रीका कुरा सुन्न र त्यसपछि प्रश्न राख्न आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरुले सरकारबाट पहिला प्रतिबद्धता आउनुपर्ने माग राख्दै सदन अवरुद्ध गरेका हुन् ।
प्रतिपक्षी दलका सांसद आ–आफ्ना आसनबाट उठिरहेका कारण सभामुख घर्तीले संसदको अर्को बैठक सोमबार दिनको १ बजे बस्नेगरी आइतबार बैठक स्थगित भएको जानकारी दिइन् ।
कांग्रेसले तीनदिनदेखि बैठक अवरुद्ध गर्दै आएको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...