काठमाडौँ, असार । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विशेष कार्यक्रम आयोजना गरी मनाइरहेकै बेला ब्युरो प्रहरीले ३५ किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका बारा डुमरवान घर भई हाल जोरपाटी बस्ने २५ वर्षीय साइमान तामाङ र नुवाकोट बुङताङ घर भई हाल कपन बस्ने ३७ वर्षीय धनबहादुर तामाङ छन् । उनीहरू लागूऔषध कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहसँग आबद्ध सदस्य रहेको जानकारी प्रहरीले दिएको छ ।
केन्द्रीय लागूऔषध नियन्त्रण ब्युरोले उनीहरूलाई आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । बरामद लागूऔषधमध्ये ३० किलो चरेस इँटा आकारको स्ल्याबमा थियो भने पाँच किलो चरेस बुद्धदर्शन ग्रन्थको गाताभित्र लुकाइएको थियो ।
ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दका अनुसार अभियुक्त साइमान थाइल्यान्डमा सक्रिय लागूऔषध एम्फेटामाइनका कारोबारी धर्म पाख्रिन तामाङका नातेदार हुन् । ‘आइस अप्रेसन’ अन्तर्गत यसअघि पक्राउ परेका पूर्णबहादुर तामाङले साइमानलाई परिचालन गर्दै आएका थिए ।
अभियुक्त साइमानले तीन वर्षको अवधिमा थाइल्यान्डबाट १९ पटकसम्म लागूऔषध एम्फेटामाइन ओसारपसार गरेका थिए । ब्युरो प्रमुख चन्दले भन्नुभयो, “नेपालबाहेक उनले झापाको काँकडभिट्टा नाका हँुदै सिलगुढी र सिलगुढीबाट थाइल्यान्डसम्म लागूऔषधको ओसारपसार गरेका थिए । एकपटकको कारोबारमा साइमानले प्रतिकिलो १५ हजार भाट पाउने गरेका थिए ।
त्यस्तै अर्का अभियुक्त धनबहादुर पनि लागूऔषध कारोबारीको अन्तर्राष्ट्रिय समूहको सम्पर्कमा रहेका अभियुक्त हुन् ।
सन् २००५ देखि २००८ सम्म कतार र इराकमा सुरक्षागार्डको काम गर्दै आएका धनबहादुरले सन् २०११ बाट लागूऔषधको अवैध कारोबारमा संलग्न भएको बयान दिएका छन् ।
नेपालबाट हङकङमा तीनपटक र नेदरल्यान्डमा दुईपटक गरी पाँचपटक लागूऔषध चरेस निर्यात गरिसकेका धनबहादुरको लागूऔषधको अन्तर्राष्ट्रिय गिरोहका नाइके साहिद खान भन्ने मोहमद वाहिद खान नाम गरेका पाकिस्तानी नागरिकसँग सम्पर्क थियो ।
ब्युरो प्रहरीले खानलाई हङकङबाट लागूऔषध लिन काठमाडौँ आएको मौका छोपी अप्रेसन फिस अन्तर्गत केही दिनअघि पक्राउ गरिसकेको छ । धनबहादुरले नै बुद्ध ग्रन्थको कभरमा चरेस लुकाई नेदरल्यान्डमा प्रतिकिलो एक हजार आठ सय युरोमा बिक्रीवितरण गर्ने गरेका थिए ।
धादिङबाट प्रतिकिलो १५ हजार रुपियाँमा खरिद गरेको चरेस अभियुक्त साइमान र धनबहादुरले विदेशमा भने चर्को मूल्यमा बिक्री गर्ने गरेको ब्युरो प्रहरीले जनाएको छ । बरामद ३५ किलो चरेसको अन्तर्राष्ट्रिय बजारमूल्य एक करोड रुपियाँभन्दा माथि पर्ने प्रहरीको दाबी छ ।
ब्युरो प्रहरीले लागूऔषध कारोबारीको अन्तर्राष्ट्रिय नेटवर्क तोड्ने काम गरिरहेको छ । धादिङ र मकवानपुरमा उत्पादित चरेस युरोपको बजारमा लोकप्रिय रहेको भनाइ प्रहरीको छ ।
नेपालबाट चरेस निर्यात गर्ने अन्तर्राष्ट्रिय समूहसँग सम्पर्कमा रहेका अधिकांश नेपाली पक्राउ परेको जानकारी ब्युरो प्रहरीले दिएको छ । – गोरखापत्र



0 comments
प्रतिक्रिया दिनुहोस्...