-->
साउदी अरबमा तीन नेपालीलाई तीन वर्ष जेल
Advertisement

सिन्धुलीः वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका तीन नेपालीलाई त्यहाँको अदालतले जनही तीन वर्ष जेल र सय कोर्रा सजायको फैसला सुनाएको छ । सिन्धुली रानीचुरी ७ का सन्तोष घिमिरे, डाँगीहाट ८ चन्द्रपुर मोरङका सुवास थापा क्षेत्री र सिरहाका दिनेशलाल शाहलाई त्यहाँको अदालतले चोरीको अभियोगमा यस्तो सजायसहितको फैसला सुनाएको हो ।
 
साउदी अरबस्थित ओसियन नेट ट्रेडिङ कम्पनी एलएलसीमा कार्यरत उनीहरूलाई एक साताअघि (जेठ १२ गते) अदालतले यस्तो सजायको फैसला गरेको सजाय पाउने घिमिरेले साउदीबाट जानकारी दिए । उनीहरूलाई कार्यरत कम्पनीको टुटफुट भएका र भाँचिएका काठका फनिर्चर चोरी गरी बिक्री गर्न लागेको आरोपमा कम्पनीकै उजुरीका आधारमा अदालतले दोषी ठहर गरेर सजाय सुनाएको हो ।
 
उनीहरूले आफूहरू निर्दोष रहेको टेलिफोनमार्फत बताएका छन् । आफूहरू निर्दोष भए पनि कम्पनीले फसाएको भन्दै बचाउका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् । आफूहरू निर्दोष भएकाले सजायबाट जोगाई दिन आग्रह गरेका हुन् ।
 
घिमिरेले नेपालस्थित सिन्धुलीको जिल्ला विकास समितिअन्तर्गत सूचना तथा परामर्श केन्द्रमा फोन गरेर आफूहरूलाई बचाइदिन आग्रह गरेका हुन् ।
बिनाकमजोरी जेल बस्नुपर्ने र सय कोर्रा लगाउँदा बाँच्ने सम्भावना कम भएको भन्दै उक्त सजायबाट आफूहरूलाई जोगाइदिन उनले नेपाल सरकारसँग अपिल गरेका हुन् ।
 
सूचना केन्द्रका परामर्शकर्ता रमा कार्कीका अनुसार घिमिरे र थापा क्षेत्री सिरहाका साथी शाहले थोत्रा फर्निचर बिक्री गर्दा पैसा आउने जनाएपछि उनकै लहैलहैमा लागेर कम्पनीले फ्याँकेका फर्निचर उठाएर बिक्री गर्न लैजाने तयारी गर्दा फसेका हुन् ।
 
कोरियामा नेपालीको मृत्यु
 
रोजगारीका लागि दक्षिण कोरियामा रहेका एक नेपालीको मृत्यु भएको छ । थेगुस्थित देसंग जेजिजु कम्पनीमा कार्यरत पाल्पाका यमबहादुर थापाको बुधबार मृत्यु भएको हो । कागज कम्पनीमा कार्यरत थापाले पुरानो ट्यांकी सफा गर्ने क्रममा केमिकलको गन्धले निस्सासिएर मृत्यु भएको उनीसँगै कार्यरत कञ्नपुरका मानसिंह साउदले जानकारी दिए । 
 
थापासँगै चारजना नेपाली उक्त कम्पनीमा कार्यरत थिए । २३ वर्षीय थापाका एक छोरी र श्रीमती छन् । घटनाबारे विस्तृत प्रहरी रिपोर्ट आउन बाँकी रहेको श्रम सहचारी देवराज ढकालले जानकारी दिए ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.