-->
कागलाई बेल पाकेको चतरा पुल
Advertisement

कागलाई बेल पाकेको चतरा पुल 

चतरामा सप्तकोशी नदीमाथि बनेको पक्की पुल चतराका यातायात व्यावसायीको सिन्डिकेटका कारण कागलाई बेल पाक्यो हर्ष न बिस्मात् जस्तो बन्न पुगेको छ । आफ्नो खेलोफुर्को सुक्ने पीरले चतराका गाडीवालले यो पुल प्रयोग गरी सीधा यातायात सन्चालन गर्न नदिएकाले कुनै सार्वजनिक यात्रुवाहक गाडी अहिले यो पुल प्रयोग गरी वारपार गर्न पाएका छैनन् । कोशीमा पक्कीपुल भए पनि वारिको वारि र पारिको पारी हुनुपर्ने मान्छेको घिनलाग्दो हर्कतको साक्षी बनेर  पुलमुनि सप्तकोशी निरन्तर धपेडीमा यो बर्खा पनि उस्तै बगिरहेकै छ । 
नेपाल मात्र होइन भारत र बंगलादेशसम्मको पारवहनलाई सकारात्मक प्रभाव पर्ने प्रक्षेपण सहित एशियाली विकास बैंकको लगानीमा बनेको जनताको जुनी फेर्न सक्ने पुल चतराका एकाध गाडीधनीहरूको स्वार्थका कारण प्रयोगविहीन भएको छ । अचम्म त के छ भने ती गाडीधनीहरूले यो पुल प्रयोग गरी यातायात चलाउन स्थानीयको अग्राधिकारको माग गरेका छैनन्, खाली चतरा-धरान चल्ने आफ्ना गाडीमा यात्रु कम हुने हुनाले सीधा चलाउन नपाउने गरी आन्दोलन गरिरहेका छन् । यसले बेल्टार–धरान–बेल्टार लगायत ठाउँमा चल्ने गाडीहरू तीनघण्टा बढी उदेकलाग्दो पुरानो बाटोबाटै घुमेर कुद्नुपर्ने भुक्तमान भोगिरहेका छन् । त्यसो त चतरा-त्रिवेणी जलयातायात चल्दा पनि ढुंगा हानिएको घटना पुरानो भएको छैन । 
माल पाएर चाल नपाउने नेपाली उखानलाई चतराका केहीको दादागिरीले सिद्ध गरेको छ । यो पुलको प्रयोगबाट चतरा खतरामा पर्ने होइन कि समृद्ध हुने कुरामा दुईमत छैन । कौशिक क्षेत्र आफैमा किरात र आर्य सभ्यताको केन्द्र सिद्ध भइसकेको छ । बराहक्षेत्र, विष्णुपादुका, मैनामैनी, कोकाहा नदी धार्मिक आस्थाका कारण प्रसिद्ध छन् । पुलको प्रयोगले पहिलेभन्दा धेरै मानिस यहाँ आउनेछन्, र चतरामा झर्नेछन् । त्यहाँ खाना खाने र बास बस्नेछन् । अार्थिक कारोबार बढ्दै जाँदा स्थानीयकै काँचुली फेरिने हो, अरूको भन्दा ।

बेल्टारका यातायात व्यावसायी सुरज गुप्ता मोटरसाइकल र रिजर्भ गाडी बाहेक अन्य गाडी यहाँबाट पार गर्न नसकिने बताउँछन् । अाखिर नेपालमा दादागिरिको अगाडि विधिको के लाग्दोरहेछ र ! कठै ! सर्वोच्च शिखर भएको र गौतम बुद्ध जन्मेको मेरो देश !


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.