-->
अफगानिस्तानबाट एक नेपाली भन्छन्, ‘चन्दा नदिएपछि टार्गेटमा परिन्छ’
Advertisement

काबुल । काठमाडौंका ३७ वर्षीय बरुबहादुर थापा (नाम परिवर्तन) अफगानिस्तान पुगेको करिव ५ वर्ष भयो । काठमााडौंको एक म्यानपावर कम्पनीको सहयोगमा उनी अफगानिस्तान पुगेका हुन् ।


अफगानिस्तानमा नेपाली सुरक्षाकर्मीलाई निशाना बनाई गरिएको आक्रमणबाट १३ नेपालीको जयान गएपछि अफगानिस्तानको सुरक्षा स्थिती बुझ्न हामीले थापासँग कुरा गरेका थियौं । 
हामीसँग कुरा गर्ने बेलामा उनी सुरक्षा गार्डको ड्युटीमा जाने तयारी गर्दै थिए ।


‘छिटो गरौं है सर, धेरै टाइम छैन्,’ सुरुमै अन्तर्वार्ता थालनी गर्दा उनले भने । हामीले काबुलमा रहेका नेपाली सुरक्षागार्डको स्थिती कस्तो छ भनी प्रश्न ग¥यौं । त्यसपछि उनले काबुल र त्यहाँस्थित सुरक्षागार्डको बारेमा स–विस्तार लगाउन थाले ।

 


प्रायजस्तो नेपालीहरु काम गर्ने ठाउँ सुरक्षित नै हुन्छ । ‘ग्रीन जोन’मा भएको ठाउँमा मात्र ड्युटी गर्ने हो । उक्त स्थान सबैभन्दा सुरक्षित स्थान मध्येमा पर्छन् । तर क्याम्प र ड्युटी गर्ने स्थान फरक भएको खण्डमा मात्र केही जोखिम हुने हो ।


क्याम्पबाट ड्युटीमा जाँदा सवारी साधनमा लैजाने गरिन्छ, त्यहाँ खासै सुरक्षा प्रबन्ध हुँदैन, अस्तिको घटना पनि त्यस्तैमा भएको हो । त्यसबारेमा भने यहाँका कम्पनीहरु संवेदनशील छैनन् । हामी(आफू) काम गर्ने र बस्ने एकै ठाउँ हो । त्यसैले कामका सिलसिलामा कुनै डर छैन । तर सधैं विष्फोटन भइरहने भएकाले मनको कहीं कुनामा डरको भान हुन्छ ।


हामीलाई कम्पनीभन्दा बाहिर जान इजाजत छैन । जान पाएपनि ज्यानको जोखिम हुने भएकाले जाँदैनौं । प्रशिक्षणका लागि लैजाँदा सोही अनुरुपको सुरक्षा ब्यवस्था हुन्छ । घर, नेपाल आउँदा, जाँदा भने केही भइहाल्ने हो कि भन्ने लाग्छ । क्याम्पबाट विमानस्थलसम्म जाँदा जोखिम रहन्छ ।


बाहिर हिंड्नुपर्नेहरु कहिले को आक्रमणमा पर्छन्, केही थाहा हुँदैन । किनभने तालिबानले कुन कम्पनीसँग चन्दा मागेको हुन्छ । चन्दा नदिएपछि उनीहरु वा उनीहरुका सुरक्षाकर्मी टार्गेटमा राखिन्छन् ।


नेपालीहरु काम गर्ने सबै विदेशी कम्पनीमा नै हुन् । सेक्युरिटी कम्पनीहरुले ट्रेण्डर हाल्छन् र विभिन्न संघसंस्थालाई सुरक्षाकर्मी उपलब्ध गराउने गर्दछन् । कतिपय वैधानिक रुपमा आएपनि कतिपय भने अवैधानिक रुपमा आएका हुन्छन् । दलालले पैसा कमाउने उद्धेश्यले नै मान्छे लैजाने भएकाले त्यस्तोमा बढी जोखिम हुन्छ ।


पहिले मानिसहरुले एउटा कम्पनी परिवर्तन गरेर अर्को कम्पनी परिवर्तन गर्न पाउँथे, त्यसकारण सुरक्षा चुनौती पनि बढी थियो । तर अहिले कम्पनीहरुले त्यस्ता मान्छे लिन छोडे । कसैलाई कम्पनी चित्त बुझेन भने सिधा नेपाल फिर्ता जाने हो, कम्पनीले जिम्मा लिंदैन ।


अहिलेसम्मको अफगानिस्तान बसाइँ ठिकै छ ।

 

विष्फोट हुँदा बखत म ड्युटीमा थिएँ, बिहान ५ः४० मा विष्फोटको आवाज आयो, केही बेरपछि क्यानडियन एम्बेसीमा कार्यरत नेपाली सुरक्षाकर्मीको निधन भएको भन्ने खबर पायौं । अहिलेसम्म नजिकैबाट त्यस्तो ठूलो घटना भोग्नुपरेको थिएन । तर अहिले घट्यो । आफ्नै दाजुभाई दुर्घटनामा परी मृत्यु हुँदा अत्यन्तै दुःख लागेको छ । तर दुःख लागेर मात्र के गर्नु । परिवार पाल्नैपर्छ, बाँच्नैपर्छ, देशमै राम्रो अवसर भएको भए कसलाई पो रहर हुन्छ र मृत्युसँग निहुँ खोज्न ।

 

हामी सुरक्षित रहेपनि उनीहरु आफ्नै दाजुभाई थिएँ, देशमा ज्यान पाल्ने अवस्था नभएर मृत्युको सामना गर्नुप¥यो ।

 

आकर्षक पारिश्रमिकका लागि अफगानिस्तान जाने नेपालीहरुको आज पनि कमी छैन । रोजगारीका लागि अफगानिस्तान आउन चाहनेले ज्यान नै रहेन भने पैसाले मात्र के गर्नु र ? त्यसैले वैधानिक बाटोबाट मात्र आउनु, लहैलहैमा पटक्कै नलाग्नु ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.