इन्टेक १९८५ का भूपू ब्रिटिस गोर्खा भीम लिम्बू । बेलायतले सन् २००९ मा चार वर्ष सेवा गरेका सबै भूपू गोर्खालाई आवासीय अधिकार दिने व्यवस्था गरेसँगै लिम्बूले पनि यहाँको पीआर पाए । कान्तिपुर दैनिकमा लन्डनबाट नवीन पोखरेलले खबर लेख्छन् ।
त्यसपछि पत्नी, एक छोरा र एक छोरी ल्याएर उनी भाडामा बस्दै आएका थिए । तर, स्थायी रूपमा यतै बस्ने भएपछि उनले ललितपुरको तीनतले घर डेढ करोड रुपैयाँमा बेचेर हालै लन्डन फेल्थाममा घर किनेका छन् । ३ लाख ७५ हजार पाउन्ड मूल्यको घर किनेर मंगलबार मात्रै सरेका उनी भन्छन्, ‘हामी सबै यता हुँदा नेपालको घर रेखदेख गर्ने कोही भएन । अनि बेलायतमा प्रोपर्टीमा लगानी गर्दा फाइदा नै हुने भएकाले नेपालको बेचेर यतै बस्ने निधो गरियो ।’
१८ वर्ष ब्रिटिस आर्मीमा सेवा गरेर अवकाश लिएपछि ओमेन्द्र गुरुङ अन्य सहयोद्धासँगै बेलायत बस्न लालयित भए । सन् २००४ देखि ००६ को अवधिमा बेलायत छिर्ने भूपू गोर्खाहरूले सहजै आवासीय अधिकार पाएका थिए । पीआर पाउने भाग्यमानीमा उनी पनि परे । पत्नी, एक छोरा र दुई छोरीसँगै बेलायत बस्ने निधो भएपछि लमजुङ बाग्लुङ पानी ५ निवासी गुरुङले काठमाडौंका दुइटा घडेरी बेचे । घडेरी बेचेको पैसा र आफ्नो केही बचतले रेडिङमा तीन बेड रुमको घर किनेर ओमेन्द्र स्थायी रूपमा यतै बस्छन् । ‘छोराछोरीको भविष्य सोचेर पनि यतै बस्ने निधो गरें,’ पुलिस कम्युनिटी सपोर्ट अफिसर रहेका उनी भन्छन्, ‘अब नेपाल जाने त्यस्तो केही योजना छैन ।’
भूपू गोर्खा मात्र होइन, आवासीय अधिकार पाएपछि यूकेको पीआर लिएर ‘सेटल्ड’ भइसकेका अन्य नेपालीले पनि घर किन्न थालेका छन् । सन् २००९ देखि ०१४ सम्म घर खरिद उत्कर्षमा पुगेजस्तो अवस्था अहिले छैन तर नेपाली बढ्ने क्रमसँगै यसले निरन्तरता भने पाएको छ । केही अपवादबाहेक मध्यमस्तरको परिवारलाई यूकेको कमाइले मात्र घर किन्न सम्भव छैन । त्यसकारण सुरुमा राख्नुपर्ने कम्तीमा १५/२० प्रतिशत डिपोजिट नेपालबाटै ल्याउनुपर्ने बाध्यता छ । नेपालीले किन्ने घर सामान्यत: डेढ लाख देखि ५ लाख पाउन्डसम्मका हुन्छन् । पछिल्ला वर्ष घरमूल्य बढेकाले आफ्नो आम्दानीबाट मात्रै सबै मोर्गेज कभर हुन नसक्ने भएकाले बचत अनि नेपालको घरजग्गा बेचेर पैसा ल्याउने चलन बढेको एक्सेस फाइनान्सियल सर्भिसेजका निर्देशक एवं पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दर्लामी बताउँछन् । आफ्नो कम्पनीले घर खरिदका लागि सातामा ६ देखि १० वटासम्म मोर्गेज र रिमोर्गेज प्रक्रिया मिलाइदिने गरेको दर्लामीले जानकारी दिए ।
नेपालको राजनीतिक अस्थिरता, अभाव र न्यून अवसरलाई बहना बनाउँदै अधिकांश नेपाली बेलायत आएपछि यतै बस्न थाल्छन् । अहिले बेलायतमा नेपालीको जनसंख्या करिब डेढ लाख रहेको अनुमान छ । आवश्यकता र प्रतिष्ठासँग गाँसिएकाले पनि घर र गाडी किन्ने धोको धेरैको हुन्छ । घर खरिद जिन्दगी भरको कमाइ मान्नेहरू पनि छन् । कतिपयले प्रोपर्टी खरिदबिक्री र भाडामा लगाउने व्यवसायसमेत गरिरहेका छन् । लन्डनस्थित नेपाली दूतावासका अनुसार, गत वर्ष ०७२ साउन देखि ०७३ वैशाख मसान्तसम्म ३ सय १९ वटा पावर अफ एटोर्नी (अधिकृत वारेसनामा) जारी भएको छ । घरजग्गा बेचबिखन, सम्बन्धविच्छेद र जग्गा नामसारी प्रयोजनका लागि अधिकृत वारेसनामा जारी भएको जानकारी दिँदै दूतावासले हरेक महिना ३० वटा हाराहारी घरजग्गा कारोबार भइरहेको बताएको छ ।
करिब डेढ दशकदेखि रेमिटेन्स व्यवसाय गर्दै आएका आईएमई यूकेका निर्देशक कमल पौडेल रेमिटेन्स नेपाल पठाउने क्रम समग्रमा झन्डै ५० प्रतिशतले घटेको बताउँछन् । ‘पहिले पहिले मानिसहरू घरजग्गा किन्न र आफन्तलाई दिन पैसा पठाउँथे, अहिले नेपालबाटै ल्याउने क्रम बढेको छ,’ पौडेलले भने, ‘विशेष गरी भूपू गोर्खाहरूले आवासीय अधिकार पाएसँगै पैसा पठाउने क्रम न्यून भएको हो ।’ घर खरिद प्रयोजनका लागि नेपालबाट कति पैसा भित्रिन्छ त्यसको यकिन आँकडा त छैन किनभने कानुनी रूपमा नेपालबाट भारी रकम बेलायत ल्याउन मिल्दैन । तर, व्यक्ति व्यक्तिबीचको सम्बन्ध र हुन्डीबाट मानिसले आफ्नो सम्पत्ति बेलायत ल्याउने गरेका रेमिट्यान्स व्यवसायीको बुझाइ छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...