काठमाडौं: अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा मारिएका १२ जना नेपालीका शव बुधबार काठमाडौं ल्याइएको छ । नेपाल वायुसेवा निगमको विशेष जहाजबाट शव ल्याइएको हो ।
काबुलस्थित क्यानडेली दूतावासमा सुरक्षागार्डको काम गर्दै आएका १२ जना नेपाली कार्यस्थलमा जाँदै गर्दा गत सोमबार तालिबानको आत्मघाती बम आक्रमणमा परेका थिए । बुधबार बिहानै चार्टर्ड विमान अफगानिस्तान पुगेर मारिएका सबैलाई कफिनमा राखेर नेपाल ल्याइएको हो । १२ शवसँगै अफगानिस्तानमा काम गरिरहेका २४ जना नेपालीलाई समेत सरकारले फिर्ता ल्याएको छ ।
मृतकका शव काठमाडौं ल्याएर नेपाली सेनाको हवाई महानिर्देशनालयको चौरमा राखिएको थियो । चौरमा शव राखिएपछि केहीबेर त्यहाँको वातावरण शोकाकुल बनेको थियो । मृतकका आफन्त भावविह्वल थिए ।
प्रधानमन्त्री केपी ओली आफैं मृतकका आफन्तलाई सान्त्वना दिन विमानस्थल पुगेका थिए । उनीसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत, पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल र श्रममन्त्री दीपक बोहोराले विमानस्थल पुगेर शव ल्याइएका कफनमा माला चढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
‘सोमबार बिहानै काममा जान बस चढेलगत्तै ठूलो विस्फोटको आवाज आयो, हामी झसंग भयौं । पछि दौडिएर हेर्दा त हाम्रै साथी चढेको गाडीलाई लक्षित गरेर आत्मघाती बम पड्काइएको रहेछ,' काबुलबाट फर्किएका नुवाकोटका आइसिङ तामाङले भने । उनले आफूहरू बस्ने काबुल लज र घटनास्थल ३० मिटर दुरीमा रहेको बताए ।
उनले एक सय ४७ जना नेपाली क्यानडेली दूतावासको सुरक्षार्थ खटिएको जानकारी दिए । ‘हामी ३२ जना बिदामा थियौं, सुरुमा गएका १७ जनामध्ये १२ जना विस्फोटमा मारिएको थाहा पायौं, अरू दोस्रो सिफ्टमा जाने तयारीमा थिए, धन्य बाँचिएछ,' पूर्वसैनिक तामाङले भने ।
काबुलबाट फर्किएका कास्की लेखनाथका भगवान बन्जाराले भने, ‘अब अफगानिस्तान सुरक्षित छैन, कोही पनि नगए हुन्छ, तालिवानको टारगेट नेपाली नै हो । सरकारले स्वदेशमै रोजगारीको सुनिश्चित गरिदिएको भए हामी विदेश जानुपर्ने थिएन र नेपाली क्रूर ढंगबाट मारिनुपर्ने थिएन ।' २०६९ देखि काबुलमा काम गर्दै आएका पूर्वसैनिक बन्जारा एक वर्षअघि मात्रै घर आएर गएका थिए । उनले एक महिनाको तलब कम्पनीले दिन बाँकी रहेको बताए । कम्पनीले बैंकखातामा पैसा राखिदिने सर्तमा नेपाल फर्किएको र अब त्यता नजाने पनि स्पष्ट पारे ।
नुवाकोट कल्याणपुरका दुर्गाप्रसाद कोइराला माइलो छोरो मधुसूदनको शव कुरिरहँदा पटकपटक भावविह्वल बने । उनले भने, ‘छोरो वैशाखमा आएर फेरि आउँछु है भन्दै खुसी भएर काबुल फर्र्किएको थियो, तीन महिना बित्न नपाउँदै पापीले चुँडेर लग्यो । यो सबै सरकारको निकम्मापनले हो, स्वदेशमै रोजगारी सुनिश्चित थियो भने हाम्रा छोरा मारिँदैनथे ।' मधुसूदन विगत चार वर्षदेखि काबुल र नेपाल ओहोरदोहोर गर्दै आएका थिए ।
बम आक्रमणमा मधुसूदनसँगै काठमाडौंका चन्द्रबहादुर रानामगर, विदुरबहादुर सुवेदी क्षेत्री, हरिबहादुर बरुवाल क्षेत्री, नुवाकोटका डम्बरबहादुर तामाङ, लीलबहादुर गुरुङ, लमजुङका अमृतबहादुर थापा, चितवनका कृष्णबहादुर ढुंगाना, स्याङ्जाका सुकबहादुर गुरुङ, रूपन्देहीका जितेन्द्रसिंह थापा, पर्वतका नवीनबहादुर क्षेत्री र सुनसरीका अकुर तामाङको मृत्यु भएको थियो ।
प्रधानमन्त्री ओलीले मृतकका आफन्तलाई सान्त्वना दिँदै भने, ‘कुनै साइनो नभएको तालिबान लडाकुको क्रूर र कायरतापूर्ण आक्रमणबाट जो मारिए, यो अत्यन्त दुःखद् घटना हो, जे हुनु भइहाल्यो, शोकलाई शक्तिमा बदल्नुस्, सरकारले तपाईंहरूलाई सक्दो सहयोग गर्छ ।'
0 comments
प्रतिक्रिया दिनुहोस्...