सोमबार विहान अफगानिस्तानको राजधानी काबुल नजिकैको एउटा बसमा गरिएको आत्मघाती बम आक्रमणमा परेर थुप्रै नेपाली सुरक्षाकर्मी हताहत भएको समाचार एक प्रहरीको हवालादिँदै खालिज टाइम्सले प्रकाशित गरेको छ । यसरी मृत्यु हुने नेपाली सुरक्षाकर्मीको संख्या एक दर्जन हुनसक्ने अनुमान छ । आफू सूचना दिनका निम्ति आधिकारीक ब्यक्ति नभएकाले ती प्रहरीले नाम खुलाउन भने चाहेनन् । आक्रमणमा परेका व्यक्तिहरु सवार मिनिबसमै हमला भएको जनाइएको छ ।
विष्फोट भएको क्षेत्रमा तत्कालको अन्यौलले मृतक र घाइतेको यकीन संख्या पत्ता लाग्न सकेको छैन । सातजना घाइते रहेको प्रारम्भिक अनुमान छ । दर्जनौं प्रहरी र एम्बुलेन्सहरु घटनास्थलमा पुगिसकेका छन् ।
रोयटर्स समाचार एजेन्सीले प्रत्यक्षदर्शीको हवाला दिँदै धेरै मानिस हताहत भएको जनाएको छ । उसले पहेँलो रंगको उक्त बसले सरकारी कर्मचारीहरुलाई उनीहरुका कार्यालयतर्फ ओसार्दै गर्दा आक्रमणमा परेको बताइएको छ । जबकि अर्को सुत्रको हवाला दिँदै उसले बसमा यात्रारत् कन्ट्र्याक्टमा कार्यरत नेपाली सुरक्षाकर्मी रहेको जनाएको छ । विष्फोटको जिम्मेवारी कसैले लिएको छैन र कारण पनि अझै खुलेको छैन ।
गत महिना अमेरिकी ड्रोन आक्रमणमा परेर तालिवानका नेता मुल्लाह अख्तर मन्सुरको मृत्यु भएयता अफगानिस्तानमा जारी अशान्तिकै यो पछिल्लो रुप रहेको समाचारमा उल्लेखित छ ।
समाचारमा रोयटर्सले प्रसारित गरेको सूचनाले मृतकको परिचय अझै पुष्टि गरेको छैन भने एशोसिएट प्रेसले प्रहरीको हवाला दिएर नेपालीहरु परेको बताएको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...