»
नर्सका आँसुले कहिलेसम्म अस्पताल चलाउने ?
नर्सका आँसुले कहिलेसम्म अस्पताल चलाउने ?
Advertisement
|
|
अस्पतालमा मुस्कुराउँदै बिरामीको सेवामा निरन्तर खटिरहेका नर्सलाई देख्दा जो कोहीलाई पनि लाग्न सक्छ कि नर्सहरु कति खुसी छन् ? नर्सको सेवा र मुस्कान देखेर अधिकांशले भन्छन् पनि, ‘बिरामीको सेवासँगै कमाइ पनि राम्रो हुने गजबको पेसा ।’ तर, वास्तविकता निकै फरक छ । दिनरात नभनी निरन्तर बिरामीको सेवामा खटिने नर्सहरुको मुस्कानभित्र ठूलो पीडा छ । उनीहरुका पीडा छचल्किएर आँसुका रुपमा आँखासम्म आइसकेका हुन्छन् । र पनि, बिरामीको रोग निको पार्न र आफ्नो सेवामा कत्ति पनि कमी आउन नदिन नर्सहरु आफ्ना पीडा मनभित्र गाँठो पारेर लुकाउन बाध्य छन् । आँखासम्म आइसकेका आँसुलाई भित्रभित्रै लुकाइरहेका छन् । मार्बल बिच्छ्याइएका चिल्ला र सफासुग्घर भुइँ भएका आलिसान भव्य अस्पतालभित्र चिटिक्क परेर सेवा दिइरहेका नर्सको काम देखेर सबैलाई नर्सको पारिश्रमिक आकर्षक लाग्नु स्वाभाविक पनि हो । तर, आम मानिसलाई के थाहा ? त्यही आलिसान भवनभित्र अस्पतालको भवनभन्दा पनि ठूला पीडाका बीच नर्सले सेवा दिइरहेका छन् भन्ने । हेर्दै लोभलाग्दो भवनभित्र नर्सका सुन्नै नसक्ने असंख्य पीडा लुकेका छन् । एउटै अस्पतालमा काम गर्ने डाक्टरहरुले योग्यता र क्षमताअनुसारको पारिश्रमिक पाउँछन् । तर, विडम्बना त्यही अस्पतालभित्र काम गर्ने नर्सले सित्तैमा काम गर्नुपर्छ ।
योग्यता छ, क्षमता छ, सीप छ, अनुशासन छ, जाँगर छ, सेवामा अरुभन्दा बढी खटिएकी पनि छ तर पनि उनीहरु सित्तैमा काम गर्न बाध्य छन् । एउटा मात्र होइन, हरेक अस्पतालमा यस्तै समस्या छ । आखिर नर्सलाई किन भोलुन्टरका नाममा अस्पतालहरुले लुटिरहेका छन् ? वर्षौंसम्म सित्तैमा काममा लदाइरहेका छन् ? पक्कै पनि यसमा सरकारको कमजोरी छ । सँगसँगै हामी नर्सहरुमा पनि थोरै कमजोरी छ । तर, ९० प्रतिशतभन्दा बढी कमजोरी सरकारकै हो ।
योग्यता, क्षमता, सीप, अनुशासन र जाँगर छ । सेवाका लागि खटिन तम्तयार छन् । सबै कुरामा दक्ष हुँदाहुँदै पनि नर्सहरु सित्तैमा काम गर्न बाध्य छन् । आखिर नर्सलाई किन अस्पतालहरुले भोलुन्टियरका नाममा शोषण गरिरहेका छन् ? एउटै अस्पतालमा अन्य स्वास्थ्यकर्मीलाई योग्यताअनुसारको कदर हुने तर नर्सलाई सधैँ रुवाइरहने ?
अन्तर्राष्ट्रिय श्रम संगठनको सदस्य राष्ट्र नेपाल पनि हो । किन सरकारले उक्त कानुनविपरीत काम गर्ने अस्पताललाई कारबाही गर्न सक्दैन ? सीप र योग्यता भएकी नर्सलाई किन भोलुन्टरका रुपमा काममा लगाइन्छ ? भोलुन्टर प्रथालाई सरकारले किन हटाउन सक्दैन ? सरकार चुप लागेर बस्दा अस्पतालका सञ्चालकहरुले अस्पतालमा आवश्यक नर्सिङ जनशक्तिको दरबन्दी भोलुन्टरका नाममा धानिरहेका छन् ।
अब यो कुव्यवस्थाको अन्त्य हुनैपर्छ । नर्सलाई भोलुन्टरका रुपमा राख्ने अस्पताललाई कारबाही गर्नैपर्छ । यो विषयमा हामी नर्सहरु पनि एकजुट हुनैपर्छ । एउटै अस्पतालमा ७०/८० जना नर्सले भोलुन्टरका नाममा सित्तैमा वर्षौंसम्म काम गरिरहँदा पनि आवाज उठाउन नसक्नु हाम्रो पनि कमजोरी हो ।
नर्सका हकहितका लागि खुलेको नेपाल नर्सिङ संघ नर्सका आँसु पुछ्न छाडेर कहाँ हराएको छ ? चुनावका बेलामा चर्का नारा लगाउने नर्सका नेताहरु यो विषयमा किन बोल्दैनन् ?
नर्सका हकहितका लागि खुलेको नेपाल नर्सिङ संघ नर्सका आँसु पुछ्न छाडेर कहाँ हराएको छ ? चुनावका बेलामा चर्का नारा लगाउने नर्सका नेताहरु यो विषयमा किन बोल्दैनन् ? कतै उनीहरुले पनि निजी अस्पताल सञ्चालन गरेर आफैँ जुनियर नर्सहरुमाथि शोषण त गरिरहेका छैनन् ? होइन भने यो विषयमा संघ चुप लाग्न मिल्दैन । एउटै अस्पतालमा डाक्टरलाई योग्यताअनुसारको कदर हुने तर नर्सलाई सधैँ रुवाइरहने अवस्थाको अन्त्य हुनैपर्छ । अब पनि यो विषयमा चुप बस्यौँ भने नर्सहरु आजीवन आँसुमा डुबिरहन्छन् र उनीहरुका काम र सेवाबाट अस्पतालहरु लुटतन्त्र चलाइरहन्छन् ।
(काफ्ले त्रिवि शिक्षण अस्पतालमा कार्यरत नर्स हुन्)
सुचना :
…
स्वास्थ्य खबरपत्रिकाले नर्सहरुका भावना, विचार तथा अनुभवलाई प्रकाशन गर्दै आइरहेको छ । यदि तपाईहरु पनि आफ्ना विचार, भावना तथा अनुभव राख्न चाहनुहुन्छ भने हामीलाई पठाउनुहोस् । हामी तपाईको विचारलाई प्रकाशन गर्ने छौँ । यहाँहरुलाई लागेको विचार तथा अनुभवलाई हाम्रो इमेल healthnewspaper@gmail.comवा कार्यालयमा आएर दिन सक्नुहुने छ ।
(Swasthya khabar)
Advertisement
|
|
Labels:
0 comments
प्रतिक्रिया दिनुहोस्...