युएईमा बोकाचोकदेखि लभडाँडोसम्म
देशिक रोजगारीका लागि युएई आएका नेपालीको सख्या एकिन छैन । तर झन्डै ४ लाख आसपास रहेको अनुमान छ । सन २००० भन्दा पहिले यहाँ नेपाली देख्नु र बोलेको सुन्नुमै अहो, नेपाली पो! भन्ने हुन्थ्यो । अहिले युएईका प्राय सबै शहरमा नेपाली जम्मा भईसकेका छन । र ती नेपाली विदाको दिन शुक्रबारे जमघटमा हुन्छन् । यसरी जमघट हुने युएईका धेरैजसो शहरका ठाउँहरुलाई नेपालीहरुले आफै न्वारन समेत गरिदिएका छन ।
नेपाली चोक-लभडाँडोसम्म
युएईको दुबईमा हप्तै पिच्छे धेरै नेपाली जम्मा हुने ठाउँ हो नेपाली चोक । खासमा यो ठाउँलाई युएईमा आब्रा भनिन्छ । समुन्द्रको छेउ उही मन्दिर जस्तै आकृतिमा बनाइएका ओत मिल्ने टहरा छन त्यहाँ ।
पहिले तिनै टहरामुनि नेपालीहरुले जोखिम मोलेर नेपालको जस्तो हाट बजार थाप्थे विदाको दिनमा । जहाँ नेपाली गीत संगीतदेखि चलचित्रसम्मका नक्कली क्यासेट विक्री वितरण हुन्थ्यो । प्रबिधीको बिकाससँगै अहिले ती क्यासेट बिक्री वितरण हुँदैनन ।त्यही नेपाली चोकको अर्को छेउमा एउटा पार्क छ । जसलाई मेट्रो पार्क भनिन्छ । जुन पार्कलाई अहिले धेरै देशका नागरिकले नै नेपाली पार्क भनेर भन्छन । कारण सधैं जसो त्यो पार्कमा नेपालीकै जमघट । त्यही जमघटमा हुन्छन घरको भान्सा चलाऊनेदेखि देश चलाऊनेसम्मका कुरा । त्यही पार्कमा गन्थन गरेरै धेरै संघ संस्था जन्मिएका छन ।
पार्क पारी केही उचाईंको एउटा डाँडो छ । हो त्यही डाँडोलाई नेपालीहरुले नाम दिएका छन लभ डाँडो । साताभरी परदेशमा अरुकै मेलामा जोतिने जोडीहरु त्यही ठाउँमा भेला भएर मायाप्रेम साटी रहेका हुन्छन । शायद त्यसैले होला धेरै नेपालीले त्यो डाँडोलाई लभ डाँडो भनेका ।
अलऐनमा पनि लभडाँडो
युएईको अलिक गाउँजस्तो हरियाली तर विकशित शहरको नाम हो अलऐन । यहाँको मुख्य बसपार्क नजिकै एउटा सामान्य उचाइको पार्क छ । जहाँ यस क्षेत्रका धेरै नेपाली जम्मा हुन्छन । यस क्षेत्रमा नेपालीले चलाएका व्यवसाय बिरलै छन । तर त्यही पार्कको छेउमा दुई नेपाली रेस्टुरेन्टहरु छन ।
ती रेस्टुरेन्टका ग्राहक पनि तिनै पार्कमा बस्ने नेपालीहरु हुन । तर त्यसरी पार्कमा बस्नेमध्ये धेरैको चाहिँ बिजोग देखिन्छ । कोही माया प्रेमको नाममा चुम्बनमा त कोही जाडरक्सीको तालमा खुट्टा टेक्न नसक्ने हालतमा देखिन्छन । पार्कका कुनाकाप्चामा रक्सीका बोतलसमेत सजिलै देख्न सकिन्छ ।
अचम्म लाग्दो र खास चुनौतीको बिषय चाहिँ यो पार्कमा महिलाको संख्या धेरै हुन्छ । त्यसरी रक्सीको नशामा धेरै महिलाले अश्लिल व्यवहार देखाइरहेका हुन्छन । त्यसो त रक्सी जुटाउने काममा भने पुरुषहरु नै बढी सकृय देखिन्छन । दुबई र अलऐनका यी लभडाँडाबाट कतिपय नेपालीहरु अनैतिक ब्यवहारका कारण स्थानीय प्रशाशनबाट पक्राउसमेत पर्ने गरेका छन ।
आबुधाबीमा बोकाचोक, सर्वदा र जय-नेपाल चोक
फरक भएकोले सुन्दा अचम्म लाग्न सक्छ । तर आबुधाबीमा रहेका धेरै युवाहरु भने यो नामबाट परीचित रहेछन । आबुधाबीको इलेक्ट्रा स्ट्रिट लाइफलाइन हस्पिटलको छेउमा एउटा नेपाली रेष्टुरेन्ट छ । आसपासमा नेपालीका अन्य व्यवसाय पनि छन ।
त्यहाँ धेरै जसो ट्याक्सी चलाऊने नेपालीहरु जम्मा हुन्छन । त्यसो त अन्य पेशामा आबद्ध नेपाली पनि हुन्छन । ट्याक्सीमा चढेर त्यो क्षेत्रमा आफ्नै कामकाजले नेपाली महिलाहरु पनि आउँछन । तीनै महिलाहरु मध्ये कतिपयको व्यवहार शंकास्पद हुँदो रहेछ । उनीहरुलाई त्यही जम्मा भएका नेपाली तथा अन्य देशका युवाहरुले अर्कै नजरले हेर्ने रहेछन । त्यसैले त्यो ठाउँको नाम बोका चोक राखिएको रे ।
त्यही आबुधाबीमै लाइफलाइन हस्पिटलको ठ्याक्कै पछाडि अर्को ठाउँ छ सर्वदा चोक । आबुधाबीमा रहेका साहित्य अनुरागीहरु त्यो चोकमा भेला हुन्छन ।
पहिलेभन्दा अहिले त्यो भेला पातलिँदै छ । सर्वदा वाङ्गमय प्रतिष्ठानका साप्ताहिक गतिबिधी पहिले त्यहिँ चोकमा हुने भएकाले ठाउँको नाम सर्वदा चोक राखिएको हो । त्यही चोकबाट ५ सय मिटर पर नपुग्दै आउने सानो पार्कलाई भने जय नेपाल चोक नामाकरण गरिएको छ । सर्वदालाई एमालेको चोक भने जस्तो कांग्रेसीहरुले त्यो चोकलाई जय-नेपाल चोक भन्ने गरेको धेरैको भनाई छ ।




0 comments
प्रतिक्रिया दिनुहोस्...